site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शिखर इन्स्योरेन्सले १०० मेगावाटसम्मका जलविद्युत्‌मा लगानी गर्ने

काठमाडौं । पछिल्ला वर्षहरूमा जलविद्युत्, केबलकार र होटेलमा निजी लगानी बढिरहेको छ । कुल बिजुली उत्पादनमा निजी क्षेत्रको हिस्सा बढेर ८० प्रतिशत पुगेको छ । जडित क्षमता ३८ सय मेगावाट पुग्दा निजी क्षेत्रले झण्डै तीन हजार मेगावाट बिजुली उत्पादन गरेको छ । 

राम्रो सम्भावना देखिएपछि बिमा कम्पनीहरूले पनि जलविद्युत्‌मा लगानी बढाउन थालेका छन् । बैंकमा मुद्धति निक्षेपमा राख्दा न्यून ब्याज पाइने अवस्था आएपछि अहिले बिमा कम्पनीहरूको आँखा जलविद्युत्‌मा परेको छ । मुलुककै सबैभन्दा ठूला निर्जिवन बिमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि जलविद्युत्‌मा लगानी बढाउने भएको छ । 

कम्पनीले ह्वाइट लोटस पावर लिमिटेडको साझेदारीमा जलविद्युत् र सोलार परियोजनामा लगानी गर्ने भएको छ । शिखरले ३० देखि १०० सय मेगावाट क्षमताको नदी प्रवाही (आरओआर), अर्धजलासय (पीआरओआर) र जलासय (रिर्जभायर) परियोजनामा लगानी गर्न लागेको हो । यस्तै १० देखि ५० मेगावाटसम्म आयोजनामा लगानी गर्ने भएको छ । 

आर्थिक रूपमा आकर्षक परियोजनामा मात्र लगानी गर्न लागेको शिखरका नायव महाप्रवन्धक सुरज राजवहाकले जानकारी दिए । ऊर्जामा लगानी गर्न प्रस्ताव आह्वान गरेको उनले बताए ।

सोलार परियोजनाका लागि जग्गा खरिद गरिसकेको वा लामो अवधिका लागि लिजमा लिएको वा लिन मिल्ने अवस्था हुनुपर्ने शिखरले जनाएको छ । 

जलविद्युत् र सोलार परियोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको वा हुने सुनिश्चित भएको परियोजनालाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ । यस्तै आयोजनाको उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको वा पाउने प्रक्रियामा गएको हुनुपर्नेछ । 

शिखरले निश्चित प्राविधिक मापदण्डमा पर्ने आयोजना भएका व्यक्ति वा संस्थालाई प्रस्ताव पेस गर्न १५ दिनको समय दिएको छ । 

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३५ करोड ७० लाख रुपैयाँ नाफा गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 

गत आर्थिक वर्षमा ५० करोड रुपैयाँ खुदनाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १६.२९ रुपैयाँ रहेको छ । नेटवर्थ १९५.८१ रुपैयाँ रहेको छ । शिखरको चुक्ता पुँजी दुई अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

यसअघि नेको इन्स्योरेन्स लिमिटेडले पनि जलविद्युत्‌मा लगानी गर्न प्रस्ताव आह्वान गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्