काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्स लिमिटेडले नौ महिनामा चार अर्ब ११ करोड रुपैयाँको कारोबार गरेको छ ।
गत वर्ष यतिले चार अर्ब २५ करोड ८० लाख रुपैयाँ व्यापार गरेको थियो । २०२३ मा तीन अर्ब ७७ करोड ५० लाख, २०२२ मा तीन अर्ब ९२ करोड र २०२१ मा एक अर्ब ३९ करोड रुपैयाँ व्यापार गरेको यतिले रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
यतिको गत वर्ष बजार हिस्सा बढेर २१ प्रतिशत पुगेको छ । सन् २०२३ मा यात्रुको आधारमा बजार हिस्सा १७ प्रतिशत थियो । घरेलु हवाई उद्योगमा यति दोस्रो ठूलो वायुसेवा कम्पनी हो ।
विभिन्न विमानस्थल र हबहरूमा विस्तारित बिक्री कार्यालयसहितको बलियो भौगोलिक कभरेजका साथै अनलाइन बुकिङले टिकट बिक्रीलाई जोड दिएको छ । जीवन बिमा कम्पनी एसियन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रवेशले यतिको उपस्थितिलाई अझ सबल बनाएको छ ।
यो वर्ष २०२५ मा यात्रु अकुपेन्सीदर बढेर ८२ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०२३ मा अकुपेन्सीदर ७८ प्रतिशत थियो । अकुपेन्सीदर बढ्नु र आर्थिक वर्ष २०२४ मा दुई नयाँ एटीआर ७२ विमान थपिएर तालिकाबद्ध उडान संख्या वृद्धि हुनुले पनि यतिको उपस्थिती सबल बनाएको छ । हाल यतिको जहाजको संख्या सात पुगेको छ । जनवरी २०२३ मा पोखरा नजिकै भएको विमान दुर्घटनाबाट उत्पन्न आर्थिक वर्ष २०२३ मा सञ्चालनमा आएको गिरावटपछि यतिले आफ्नो वित्तीय अवस्थामा सुधार देखाएको छ । आर्थिक वर्ष २०२४ मा दुई नयाँ एटीआर ७२ विमानको समावेशले वित्तीय पुनरुत्थानलाई सहयोग पुर्याएको छ ।
यसबीचमा यतिको टिकट बिक्री १३ प्रतिशत बढेको छ । गत वर्ष हवाई रुटको संख्या १६ बाट बढेर २० पुगेको छ । यसले पनि आम्दानी बढाउन सहयोग पुगेको कम्पनीले जनाएको छ । गत वर्ष कुल आम्दानीमा काठमाडौं, पोखरा र विराटनगर सेक्टरको हिस्सा ४७ प्रतिशत रहेको छ ।
विश्वव्यापी कच्चा तेलको मूल्यमा आएको उतारचढावको सामना यतिले गरिरहेको छ । सन् २०२४ मा कुल सञ्चालन लागतको ३२ प्रतिशत उड्डयन इन्धन ओगटेको छ । २०२३ मा बढेर ४५ प्रतिशत पुगेको थियो । यस्तै, यतिले डलरको जोखिम पनि बहन गर्दै आएको छ ।
यति एयरलाइन्स अझै पनि उल्लेखनीय विदेशी मुद्रा जोखिममा रहेको छ । जसको लगभग कुल बैंक ऋणको ३८ प्रतिशत र यसको मर्मतसम्भार र पार्टपुर्जा खर्चको एक महत्त्वपूर्ण भाग अमेरिकी डलरमा मूल्यांकन गरिएको छ ।
डलरमा आधारित आम्दानीले गत वर्ष १३ प्रतिशत मात्र ओगटेको यतिले जनाएको छ । गत वर्ष १० करोड रुपैयाँ डलरबाट घाटा भएको छ । अमेरिकी डलरको तुलनामा नेरुको क्रमिक अवमूल्यनले जोखिमलाई बढाए पनि विदेशी पर्यटक आगमनमा वृद्धिले अमेरिकी डलर आम्दानी भएको स्थिर रिकभरीले यसलाई आंशिक रूपमा कम गरेको छ ।
यति एयरलाइन्स यति वर्ल्डको सहायक कम्पनी हो । जुन पर्यटन र उड्डयन उद्योगमा एक दर्जन भन्दा बढी कम्पनीसहितको एक ठूलो व्यापारिक समूह हो ।
सन् १९९८ मा स्थापित यती एयरलाइन्स मुलुककै पुरानो आन्तरिक उडान गर्ने एयरलाइन्स सेवा प्रदायकमध्ये एक हो । यतिले ७ वटा एटीआर ७२ विमान सञ्चालन गर्दै आएको छ । जसमध्ये ६ वटा खरिद गरिएका छन् र एउटा भाडामा लिइएको छ । यतिको प्रमुख प्रवर्द्धकहरूमा एसियन लाइफ इन्स्योरेन्सको ४६.८२, लाक्पा सोनाम शेर्पाको २५.०३ र चन्दा शेर्पाको २५.०३ प्रतिशत स्वामित्व रहेको छ । यतिले ६ अर्ब ३६ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।