काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयका आगामी योजना र समस्याको समाधानको लागि सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित ‘आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’मा मन्त्रालय प्रत्यक्ष उत्पादन, सिधा रोजगारी र उत्पादनसँग जोडिएको बताउँदै सकारात्मक हुनुपर्ने बताएका हुन् ।
“लगानी गरेपछि प्रतिफल दिने मन्त्रालय हो, जसले उत्पादन, रोजगारी र मुनाफाका माध्यमबाट देशलाई ठूलो फाइदा पुर्याउँछ,” उनले भने ।
समयमै आयोजना सम्पन्न नगर्दा लागतमा वृद्धि र ढिलासुस्तीको असर पर्नसक्ने कुरा उल्लेख गर्दै, ठूला आयोजनाको तीव्रताका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । “जलाशययुक्त राम्रो आयोजना बनाउने चुनौतीबीच सरकारले ठूला तीन, चारवटा आयोजना निर्माण गर्ने योजना गरेको छ । निजी क्षेत्रको लगानी र व्यवस्थापनसँग यो प्रक्रिया अघि बढाउन सकिन्छ,” मन्त्री खड्काले भने ।
मन्त्री खड्काले कार्य प्रणालीमा सुधारका लागि सरकारी अधिकारीलाई जिम्मेवारीका साथ काम गर्न आह्वान गरे । “आजकल केही व्यक्तिहरूमा आफ्नो जिम्मेवारी पूरा नगरी अरूको काममा भाँजो हाल्ने प्रवृत्तिहरू देख्न पाइन्छ, जसले काममा ढिलासुस्ती ल्याउँछ । कानुनी जटिलताहरू समाधान गर्नुपर्ने आवश्यकता छ, नत्र काममा अवरोध आउनेछ” उनले भने ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छाले विगतमा भएका कमी कमजोरीलाई औँल्याउँदै आगामी दिनमा ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।
जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले आयोजनालाई अगाडि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट राम्रो सहयोग पाए पनि वन र जग्गाप्राप्तिको समस्याले आयोजना निर्माणमा ढिलाइ भएको बताइन् ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्रले तयारीबिना नै बजेट राख्दा बजेट खर्च हुन नसकेको र प्रगति कम देखिएको बताए ।
कार्यक्रममा अर्थ मन्त्रालयका प्रतिनिधिले ऊर्जा र जलस्रोत क्षेत्रको विकासका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्न सधैँ सकारात्मक रहेको बताए ।