काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले साउन २९ गते आफ्नो २४औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो ।
वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले विगतमा गरेका उपलब्धिहरू र भाबी योजनाहरूबारे प्रस्ट पारे । संस्थाले दिँदै आएका कार्ड सेवा (एससीटी–यूनियनपे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड, आदि) मोबाइल बैंकिङ सेवा, अन्तर बैंक भुक्तानी सेवा, क्यूआर भुक्तानी सेवा र मर्चेन्ट व्यवस्थापन सेवा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू घिमिरेले बताए ।
वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नवीनतम सेवाहरू स्मार्ट क्यूआर साउन्डबक्स र एससीटी हबका बारेमा संस्थाका चिफ इनोभेसन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे । स्मार्ट क्यूआर साउन्डबक्स स्मार्ट च्वाइस टेक्नोलोजिजको नवीन सेवा रहेको छ ।
जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्यूआर साउन्डबक्समार्फत सुन्न सक्नेछन् । स्मार्ट क्यूआर साउन्डबक्सलाई मर्चेन्टहरूले आफ्नो वाई–फाईसँग लिंक गरेर वा स्मार्ट क्यूआर साउन्डबक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू स्मार्ट क्यूआर साउन्डबक्समार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् । एससीटीले ल्याएको यस नवीनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे स्मार्ट क्यूआर साउन्डबक्समार्फत जानकारी हुन्छ ।