काठमाडौं । ०४३ सालमा मीन (बज्राचार्य) अस्ट्रेलिया गएका थिए । ओपेरा हाउसको तस्बिर खिचे । र, खिचे समुद्रको तस्बिर । गगनचुम्बी महलको तस्बिर खिचेर फर्किएपछि मीनले समाचार पढे– नेपालका राजाले अस्ट्रेलिया भ्रमण गरे ।
“ओ हो ! पहिल्यै थाहा पाएको भए, भेट हुन्थ्यो कि,” उनलाई थकथक लाग्यो । सिड्नी, क्यानबेरा, डार्विनमा राजाले घुमेको खबर थियो । मीन सिड्नीबाटै फर्किएका थिए ।
सेप्टेम्बर १० मा मीन काठमाडौं फर्किने क्रममा हङकङ आइपुगेका थिए । पेननसुला होटेलमा बसेका थिए । पेननसुला हङकङको त्यस्तो होटेल हो, जसमा त्यहाँको सरकारले विदेशी ‘हेड अफ दी स्टेट’ (सरकार प्रमुख) लाई राखिन्थ्यो ।
होटेल परिसरमा टहलिन निस्किएका मीनले दुई हात पछाडि राखेर राजा वीरेन्द्र हिँडिरहेको देखे । राजा नै त हो ? मीनलाई सपनाजस्तो लाग्यो ।
मीनले दुई हात जोडेर नमस्ते गरे । मुसुमुसु हाँस्दै वीरेन्द्रले मीनलाई ढाडमा धाप मारे । मीनले आफू ६ महिना अस्ट्रेलिया बसेर घर फर्किंदै गरेको बताए ।
वीरेन्द्रले सोधे, “बाबु कहाँको हो ?”
“म नेपाली नै हो सरकार,” मीनले भने ।
वीरेन्द्र : नेपाल कहाँ ?
मीन : असन मासङ गल्ली, मेयर कमल चित्रकारको घरको अगाडि ।
वीरेन्द्र : बाबु कसको छोरा ?
मीन : मेरो बुबा..., पहिला परोपकारको हेडमास्टर हुनुहुन्थ्यो ।
सँगै रहेका मीनका गडफादर लिलेन्ड पोन्टोनलाई चिनाए । लिलेन्ड दोस्रो विश्वयुद्धताका अस्ट्रेलियन सरकारको जल सेनाप्रमुख रहेको सुनाए ।
वीरेन्द्रले नेपाली नागरिकलाई सहयोग र संरक्षण दिएको दयालु व्यक्ति भन्दै हात मिलाएर धन्यवाद दिए । “दुईपटक धन्यवाद दिँदै वीरेन्द्र सरकारले लिलेन्डलाई धन्यवाद दिनुभयो । म पो एक्साइटेड भएर झन्डै वीरेन्द्रसँग हात मिलाउनलाई हात दिएको,” मीन भन्छन्, “आफ्नो नागरिकसँग यति धेरै डिटेलमा हेड अफ दी स्टेटले सोध्लान् भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।”
अलि बढी ‘एक्साइटेड’ भएको देखेर वीरेन्द्रका एडीसीले मीनलाई हातको इसाराले बोलाएर सुरक्षाका हिसाबले अलि दूरी कायम गर्न भने ।
तर, राजाको त्यही भ्रमण दलमा रानी ऐश्वर्यको एडीसी समूहमा रहेर काम गरेका गेहेन्द्रराज राजभण्डारी पनि रहेछन्, जो मीनका बुबाको साथी थिए । त्यसपछि राजाको सुरक्षाकर्मीले मीनलाई त्यति धेरै सोधपुछ गरेन ।
“मलाई राजाले तिम्रो बुबाको नाम के हो भनेर सोधपुछ गरेको देखेर आफ्नो जनताप्रति कति धेरै चासो राख्नुहुँदो रहेछ भनेर म छक्क परेँ,” मीन भन्छन् ।
वीरेन्द्र भ्रमणका क्यामेराम्यान पनि उनले देखे, जो असन भेडासिङकै थिए । मीनले भने, “दाइ नमस्ते ।”
तर, उनले देखेको नदेख्यै गरे । वीरेन्द्रले कसको छोरो भनेर सोध्ने तर टोलकै दाइले नमस्ते पनि नफर्काउने ! वीरेन्द्रको त्यो सरलपन मीनको मानसपटलबाट अहिले पनि धमिलिएको छैन ।
हङकङमा राजालाई भेटेको तस्बिर भने मीनसँग छैन । किनकि, त्यो समय उनले फोटोग्राफी सुरु गरिसकेका थिएनन् । ओपेराको तस्बिर नयाँ देखेर रहरले खिचेका थिए ।
भोलिपल्ट मीन आफ्नो सिटबारे बुझ्न नेपाल एयरलाइन्सको कार्यालय पुगे । एयरलाइन्सले भन्यो, “पूर्वनिर्धारित फ्लाइट एक हप्ताका लागि पछि सरेको छ । तर, अगाडि जान चाहन्छौ भने सिट उपलब्ध छ ।”
त्यो फ्लाइट एक हप्ता पछि सर्नुको कारण त्यही समय राजा वीरेन्द्र सोही जहाज लिएर जापान भ्रमणमा गएछन् । “त्यसपछि लिलेन्ड र म १२ तारिखमै नेपाल फर्कियौँ,” मीन ३९ वर्षअगाडि फर्किए ।
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा ‘इन्टरनेसनल न्युरो कन्फरेन्स’ भयो । न्युरो सर्जन उपेन्द्र देवकोटाले मीनलाई बोलाएका थिए ।
सम्मेलनमा सहभागी भइसकेपछि अन्त्यमा ग्रुप फोटो सेसन हुने भयो । त्यो फोटो सेसनमा सबैभन्दा धेरै नै राजा वीरेन्द्र खुले ।
“ठिक छ ? कि हामी अलि सर्नुपर्छ ? पोजिसन ठिक छ ?,” वीरेन्द्रले सोधे ।
मीनमा पनि कन्फिडेन्स बढिसकेको थियो । र, भने, “सरकार, लेट बी टुगेदर क्लोज ।”
ग्रुप फोटो सेसन सकियो । दरबार र सूचना विभागका फोटोग्राफरले क्यामेरा थन्क्याए । तर, मीनले वीरेन्द्र र उपेन्द्र देवकोटा गफ गरिरहेको तस्बिर खिचे ।

त्यो क्याजुअल तस्बिर मीनले हिमाल खबर पत्रिकामा छापे । त्यो तस्बिर उपेन्द्रले मन पराए । मीनलाई भने, “मीन त्यो तस्बिर त म बैठकमै राख्नुपर्यो । एउटा ठूलो तस्बिर मलाई पनि ल्याइदेऊ त ।”
मीन औपचारिक कार्यक्रमको तस्बिर जसले पनि खिच्ने भन्दै फोटो पत्रकारले ‘क्याजुअल’ तस्बिरमा आँखा पुर्याउनुपर्ने बताउँछन् । त्यस्तो फोटोले तत्कालीनमात्रै होइन दीर्घकालीनरूपमा पनि महत्त्व राख्ने उनको भनाइ छ ।
स्वयम्भूको भुइँखेलमा हरेक १२ वर्षमा माघ १ गते १२ वर्षे पञ्चदान मेला लाग्छ । त्यो मेलामा सरकार प्रमुख अथवा तत्कालीन राजा नै आउने परम्परा थियो ।
मेलामा आउने राजाको पाउ (खुट्टा) स्थानीय बज्राचार्य समुदायले सुनको जारमा रक्सी राखेर त्यसले धोइदिने प्रचलन थियो । नारायणको प्रतीक मान्ने गरिएकाले राजाको खुट्टा रक्सीले धोइदिने चलन थियो ।
लौह पुरुष गणेशमान सिंहको फोटो खिच्दा खिच्दै दरबारको सुरक्षामा रहेका सुरक्षाकर्मीले पनि मीनलाई केही हदसम्म चिन्न थालिसकेको थियो । त्यसैले राजा सवारी हुने कार्यक्रममा उनलाई राजाका सुरक्षाकर्मीले त्यति धेरै ‘टाइट’ गर्न छोडिसकेको थियो ।
त्यसैले स्टेज अगाडि नै गएर रक्सीले राजाको खुट्टा धोइदिँदै गरेको तस्बिर खिच्न पाए, जुन अरूलाई अनुमति थिएन । जुन तस्बिर अहिले ऐतिहासिक भए । र, ती तस्बिर मीनसँग छन् ।
दुर्भाग्य, ०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । वीरेन्द्रको परिवार नै सखाप भयो । त्यसपछि त्यो मेला पनि सखाप भयो । १२ वर्ष कट्यो तर त्यो मेला फेरि लागेन ।
मंगलबार १८६औँ अन्तर्राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइरहँदा मीन आफ्नो फोटो पत्रकारिताको तीन दशक लामो करिअरको समीक्षा गरिरहेका छन् । विगत र वर्तमानको समीक्षा गरिरहेका छन् ।
प्रविधिले फोटो पत्रकारिता ‘एडभान्स’ भयो । अब ठूलो क्षेत्रफल फ्रेममा अटाउन डाँडाकाँडा कुदिहिँड्न परेन, ड्रोनको सहायता लिए पुग्यो । हिमाल–पहाडको धमिलो तस्बिर खिच्नुपरेन, आधुनिक क्यामेरा र लेन्स आए ।
समयसँगै सोच र चेत परिवर्तन भनिन्छ । मानिस समयक्रमसँगै सभ्य सुसंस्कृत बने भनिन्छ । तर, यसमा मीन शतप्रतिशत सहमत छैनन् ।
किन ?
“पहिला बरु फोटोपत्रकार सुरक्षित थिए । तर, अहिले छैनन् । पहिला पत्रकार भनेपछि राज्यले छुट्टै रेस्पोन्स गर्थ्यो,” मीन भन्छन्, “तर, अहिले त्यस्तो छैन । अहिले फोटो पत्रकारको ज्यान नै लिन थालियो । अभद्र व्यवहार त्यत्तिकै बढ्यो । क्यामेरामात्रै होइन, अहिले ज्यान नबच्ला कि भन्ने अवस्था आयो ।”

मीनले चैत १५, २०८१ मा तीनकुने घटनामा जिउँदै जलाइएका फोटो पत्रकार सुरेश रजकलाई सम्झिए । “पहिला कहाँ हुन्थ्यो र यस्तो ? राजनीतिक लाइन मिलेन भने पनि यस्तो क्रूर व्यवहार हुँदैनथ्यो,” उनी भन्छन्, “हामी वि.सं. २०४६ र २०६२/०६३ को आन्दोलनमा आन्दोलनकारीको भिडभित्र पसेर फोटो खिच्थ्यौँ । तर, अहिले पहिलो प्रोटेक्सन त्यसपछि मात्रै फोटो भन्ने अवस्था आयो ।”
समयसँगै झन् सहज र सरल हुँदै जानुपर्नेमा अहिले झनै फोटो पत्रकारमाथि राज्यको वक्रदृष्टि रहेको मीनको निष्कर्ष छ । त्यसैले त उनी भन्छन्, “फर्स्ट सेल्फ प्रोटेक्सन (आफ्नो सुरक्षा), सेकेन्डमा फोटो ।”
