काठमाडौं । नाडा अटो शो २०२५ मा साइमेक्स इंकले बीवाईडीको नयाँ मोडेल ‘एट्टो २’ सार्वजनिक गरेको छ । हालसम्मकै सबैभन्दा सहज मूल्यमा उपलब्ध हुने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीलाई सोमबार राजधानीमा भव्य समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेका हुन् । उक्त समारोहमा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, बीवाईडी नेपालका ब्रान्ड एम्बासडर हरिवंश आचार्य र ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थिति थियो ।
बीवाईडी एट्टो २ लाई युवा व्यवसायी तथा परिवारको जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएको छ । यो मोडेलमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि र प्रिमियम कम्फर्ट फिचर समावेश छन् । कम्पनीका अनुसार, ‘एट्टो २’ कम्प्याक्ट भए पनि ठूलो कारको अनुभव दिने गरी तयार पारिएको छ । ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा बजारमा आएको छ । एसयूभीसँगै सात किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश गरिएको छ ।
लम्बाइ ४,३१० एमएम, चौडाइ १,८३० एमएम, उचाइ १,६७५ एमएम र २,६२० एमएम ह्विलबेस भएको ‘एट्टो २’ मा २०० एमएम ग्राउन्ड क्लियरेन्स छ । यसले सहर तथा ग्रामीण सडक दुवैका लागि उपयुक्त बनाउँछ । ५१.१३ किलोवाटको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिने क्षमता राख्छ । १०० किलोवाटको मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ०–१०० किलोमिटर प्रतिघण्टा गति ९ सेकेन्डमै लिन सक्छ ।

सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, १२.८ इन्चको रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता सुविधाले क्याबिनलाई स्मार्ट र प्रिमियम बनाएका छन् । वायरलेस चार्जिङ, भ्वाइस असिस्टेन्ट र ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर पनि उपलब्ध छन् । ‘एट्टो २’ मा लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ । जसअन्तर्गत अटो इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ट्राफिक जाम असिस्ट लगायतका फिचर छन् । त्यस्तै, ६ एयरब्याग, ईएससी, टीसीएस, एचडीसी र ३६० डिग्री भ्यु मोनिटरसमेत राखिएको छ ।
‘एट्टो २’ बुकिङ गर्ने ग्राहकले एक वर्षको निःशुल्क अटो–प्लस इन्सुरेन्स, ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको विस्तारित वारेन्टी, एसेसरिज प्याकेज र १० वर्षसम्म निःशुल्क बीवाईडी एप कनेक्सन पाउनेछन् । साइमेक्स इन्कका अध्यक्ष श्रेष्ठले एट्टो २ नेपाली ग्राहकका लागि ईभी सेग्मेन्टमा महत्त्वपूर्ण मोडेल हुने बताए । प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यसले नेपालमा ईभी रुपान्तरणलाई अझ गति दिने बताइन् ।
एट्टो २ चार रङ– ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइटमा उपलब्ध छ । देशभरका बीवाईडी सोरुममा यसको बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।