काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५० करोड तीन लाख पुगेको छ । यस वर्ष बैंकको लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म बैंकले ५६ अर्ब २२ करोड निक्षेप संकलन गर्न सफल भएकोमा ४५ अर्ब ८५ करोड कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो । साथै, आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ ।
बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको छ । साथै, बैंकको पुँजी पर्याप्तता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरूमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ साउन मसान्तसम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो ।
कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ, जसअनुसार बैंकको आधार दर ०८२ साउन मसान्तसम्म ६.५४ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।