काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक पछिल्ला दिनमा घट्दै गएको छ । पछिल्ला १७ कारोबारमा ११ कारोबार दिन घटेको छ । बाँकी ६ कारोबार दिन बजार बढेको छ ।
एक वर्षको तथ्यांक हेर्दा बजार न्यून विन्दु २४६४ नजिक छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार, बिहीबार (भदौ ५) बजार २७५७.२० विन्दुमा बन्द भएको छ । आज पनि परिसूचक ९.२२ अंकले घटेको हो । बुधबार नेप्से परिसूचक ९.७० अंकले घटेको थियो ।
१७ कारोबारलाई मात्र हेर्दा बजार बियरिसतर्फ लागेको जस्तो देखिन्छ । पछिल्ला दिनमा बजार बढ्नेभन्दा घट्ने अंक बढ्दै गएको छ । कारोबार रकम पनि न्यून हुँदै गएको छ । बिहीबार पाँच अर्ब दुई करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
केही दिनअघि (साउन ११ गते) २६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो । तर, अहिले कारोबार रकम घटेर दैनिक पाँच अर्बमा झरेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजित नाडा अटो सो र नजिकिँदै गरेको दसैँतिहारका कारण बजारमा कारोबार रकममा कमी आएको सेयर बजारसम्बन्धी जानकारी दिँदै आएका लगानीकर्ता सुवासचन्द्र ढुंगाना बताउँछन् ।
दसैँ नजिकिँदै गर्दा व्यवसायीहरूले आवश्यक सामान आयात गरेर स्टोर गर्ने क्रम बढेकाले पनि बजार सुस्ताएको उनी बताउँछन् । नाडा अटो सोमा नयाँ गाडी खरिद गर्न र बुकिङ गर्न पनि पैसा गएको हुन सक्ने उनको भनाइ छ ।
अहिलेको बजार बियरिस लयमा गएको भन्ने अवस्था नरहेको उनी बताउँछन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार, लो बटम लाइनको २० प्रतिशतले बजार तल झर्यो भने त्यसलाई बियरिस ट्रेन्ड भनिन्छ । पछिल्लो एक वर्षको उच्च विन्दु ३००२ भन्दा बजार ८.१३ प्रतिशतले तल छ । एक वर्षको उच्च विन्दुभन्दा हालसम्मकै उच्च विन्दुभन्दा २० प्रतिशत तल बजार झर्यो भने त्यसलाई बियरिस भन्न मिल्ने उनी बताउँछन् ।
“अहिले बजार घट्नु सिजन हो । लो बटमबाट २० प्रतिशतमाथि बजार छ भने त्यो बुलिस ट्रेन्ड नै हुन्छ । तर, बजार १०–१५ प्रतिशतमाथि लामो समयसम्म पनि रहन सक्छ,” उनले बाह्रखरीसित भने, “टप बटमबाट २० प्रतिशत तल बजार छ भने त्यसलाई बियरिस ट्रेन्ड भन्न सकिन्छ ।”
तर, सेयर बजार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु ३१९९ भन्दा १३.७८ प्रतिशत तल छ । त्यसैगरी पछिल्लो दुई वर्षको न्यून विन्दु १८२६ भन्दा बजार ५१ प्रतिशतमाथि छ । यसले पनि बजार बुलिस ट्रेन्डमै छ भन्ने संकेत गर्छ ।
३२ सयको विन्दु तत्काल पार नहुने संकेत
पछिल्ला वर्षका कारोबारलाई हेर्दा सेयर बजारको उच्च विन्दु ३१९८ विन्दु तत्काल पार नहुने संकेत गरेको छ । दैनिक कारोबार रकम घट्दै जानु र उच्च विन्दुभन्दा ४०० अंकको दुरीमा हुनुले पनि बजार तत्काल नयाँ उचाइमा नपुग्ने देखिन्छ । अहिलेकै अवस्थामा बजारले नयाँ रेकर्ड नबनाउने लगानीकर्ता ढुंगानाको बुझाइ छ ।