site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साउनमा एक खर्ब ४३ अर्बको वस्तु तथा सेवा आयात, २३ अर्ब ९३ करोडको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को साउन महिनामा एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्ष ०८१/८२ को साउन महिनाको तुलनामा चालु वर्षको सोही महिनामा आयात रकम ११.४२ प्रतिशतले वृद्धि भएको हो ।

भन्सार विभागका अनुसार, गत आर्थिक वर्षमा एक खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । 

चालु आर्थिक वर्षमा निर्यात ९५.७५ प्रतिशतले बढेको छ । साउन महिनामा २३ अर्ब ९३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ । गत वर्ष नेपालबाट १२ अर्ब २२ करोड २६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । 

साउनमा कुल एक खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको विभागको तथ्यांक छ । निर्यात कम हुँदा व्यापारघाटा भने दुई प्रतिशतले बढेको छ । गत वर्षको साउनमा एक खर्ब १६ अर्ब १५ करोड रुपैयाँ व्यापारघाटा रहेकोमा चालु वर्षमा २.५५ प्रतिशतले बढेर एक खर्ब १९ अर्ब १० लाख रुपैयाँ पुगेको छ । 

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १४.९८ प्रतिशत छ । आयातको हिस्सा भने ८५.६७ प्रतिशत छ । गत वर्षको साउनमा आयातको हिस्सा ९१.३० प्रतिशत थियो भने निर्यातको हिस्सा ८.७० प्रतिशत थियो । निर्यातमा केही सुधार देखिँदा कुल वैदेशिक व्यापारको आयात निर्यात हिस्सामा परिवर्तन देखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्