काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रुटबारे छलफल हुने बताएका छन् ।
शुक्रबार राष्ट्रियसभाको बैठकमा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको जवाफमा उनले ओलीको भारत भ्रमणमा उडानका लागि नेपालले प्राप्त गर्नुपर्ने रुटका विषयमा छलफल हुने बताएका हुन् ।
"प्रधानमन्त्रीज्यूको भारत भ्रमणको पूर्वसन्ध्यामा हामीले प्राप्त गर्नुपर्ने रुटका विषयमा, बाहिर र भित्र आवागमन दुवैका लागि रुटहरू आवश्यक पर्दछ । केवल सिमरानेरको रुटमात्रै आउने/जाने छ । यस विषयलाई महत्त्वका साथ भ्रमणमा उठाउनेछौँ, रुटबारे स्पष्ट हुन्छौँ," उनले भने ।
उनले देशका महत्त्वपूर्ण विमानस्थललाई चलायमान बनाउन मन्त्रिपरिषद्बाटै कार्ययोजना पास गरिएको जानकारी दिए । "भैरहवा विमानस्थल र पोखरा विमानस्थल, अन्तर्राष्ट्रिय विमानस्थल र क्षेत्रीय विमानस्थल दुवै विमानस्थल सुचारु गर्नका लागि यो सरकार बनेपछि मन्त्रिपरिषद्ले एउटा कार्ययोजना पास गरेको छ । जसको कारणले दुवै विमानस्थललाई चलायमान बनाउने बाटो लिएका छौँ," उनले भने ।
उनले थपे, "भिसा सेन्टर त्यहीँ स्थापना हुनुपर्ने, अध्यागमन स्थापना गर्ने, श्रम कार्यालय स्थापना गर्ने, क्वारेन्टाइन त्यहीँ राख्ने, स्वास्थ्य परीक्षणका लागि आवश्यक कुरा लिएर जाने, म्यानपावर कम्पनीलाई पनि आकर्षित गर्ने, सरकारले दिने विभिन्न खालका छुट, फ्युलमा छुट, ती दुई विमानस्थलको हकमा दुई वर्षका लागि टिकटमा लाग्ने भ्याटमा छुट लगायतका विभिन्न सहुलियतका कार्यक्रम प्याकेजमै मन्त्रिपरिषद्को निर्णयअनुसार लिएर गएका छौँ ।"
न्युज एजेन्सी नेपालबाट ।