काठमाडौं । गायिका बानिका प्रधानको स्वरमा आध्यात्मिक गीत ‘शिवोहम्’ सार्वजनिक भएको छ । आध्यात्मिक उर्जा र सत्कर्ममा उत्प्रेरित गर्ने गीतका रचनाकार नर्बदा श्रेष्ठ हुन् ।
बानिका प्रधानको स्वर रहेको गीतमा संगीत न्ह्यु बज्राचार्यको छ । भिडियो सम्पादन अनिल ताण्डुकारले गरेका छन् ।
संगीतकार न्ह्यू बज्राचार्यले गीतमा आराध्यदेव महादेवको आरधनामा केन्द्रित ध्यान, उर्जा र शक्तिको सुक्ष्म तत्वहरूलाई संगीत सृजनामा समेट्ने प्रयास गरेको बताए ।
यो गीतमा संगीत भर्दा आफूले चुनौती महसुस भएको न्ह्यू बताउँछन् । “नर्वदालाई मैले अमेरिकामा भेटेको रहेछु । तर, मेलै उहाँलाई बिर्सिसकेको रहेछु,” न्ह्यू बाह्रखरीसँग भन्छन्, “तर, धेरै वर्षपछि अचानक उहाँले दाइ मैले एउटा गीत लेखेको छु, यसमा संगीत भरिदिनुस् न है भनेर गीत पठाउनुभयो ।”
गीत हेरेरे न्ह्यूले फरक महसुस गरे । कारण थियो, अक्सर उनलाई लभ सङ, आधुनिक वा राष्ट्रिय गीत पठाउँछन् । तर, नर्वदाले पठाएको गीत फरक थियो ।
“तर, शिवको भजन (शिव स्तोत्र) पहिलोपटक मलाई कसैले पठाएको थियो । गीत हेरेपछि कम्पोजका नाताले मलाई च्यालेन्ज जस्तै लाग्यो,” न्ह्यू भन्छन्, “यो कम्पोज गरेर भने मलाई के भन्नु होला भनेले यसमा धेरै सोचेर संगीत सृजना गरेको हुँ ।”
गीतमा प्रस्तुत श्लोकहरूमा आत्मसमर्पण र शिवत्वको अनुभूत गर्न सकिन्छ । ‘निराकार स्वरुप या साकार रूप, अन्तरिक्षमा छौ या अन्तरमनमा विराजमान’ तथा ‘दियो बल्न कपास जल्छ, कपास जलेरै प्रकाश छर्छ’ जस्ता पंक्तिले भगवान शिवको अनन्त चेतना र आत्म–साक्षात्कारको अनुभूति गराउँछ ।