काठमाडौं । आर्थिक गतिविधि सुस्त हुँदा गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाहरूले लक्ष्यभन्दा कम कर्जा प्रवाह गरेका छन् । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतमात्र बढेको छ । गत वर्ष नेपाल राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो ।
गत असारसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूले चार खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ मात्र थप कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले गत आर्थिक वर्षमा साढे ६ खर्ब रुपैयाँ कर्जा प्रवाह हुने अनुमान गरेको थियो ।
अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत बढेर २ खर्ब ७६ अर्ब ९४ करोड थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ र ३६.७ प्रतिशत थियो ।
समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.६, विकास बैंकहरूको ६.१ र वित्त कम्पनीहरूको ८.४ प्रतिशत बढेको छ । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । ०८१ असार मसान्तमा यो अनुपात क्रमशः ६६.५ र १३.२ प्रतिशत थियो ।
गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.५, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ३.४ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशत बढेको छ ।
कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ७.१ प्रतिशत, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९, मार्जिन प्रकृतिको कर्जा ५६.२, ट्रस्ट रिसिट (आयात) कर्जा ५१.१, हायर पर्चेज कर्जा ३.७ र डिमान्ड तथा चालु पुँजी कर्जा १३.२ प्रतिशत बढेको छ । यसबीचमा ओभरड्राफ्ट कर्जा १०.४ प्रतिशत घटेको छ ।