site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सकियो नाडा अटो शो, एक लाख ६० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शो, २०२५ सकिएको छ । भदौ ३ देखि सुरु भएको नाडा अटो शो आज (भदौ ८) सकिएको हो ।

यसपटकको नाडा अटो शो भव्यरूपमा सफल भएको नाडाका अध्यक्ष करण चौधरीले दाबी गरे । “हामीले १७औँ संस्करणको नाडा अटो शो, २०२५ निकै भव्य बनाउन सफल भएका छौँ,” उनले भने, “यो ऐतिहासिक शोमा एकलाख ६० हजार बढी दर्शकले अवलोकन गर्नभएको तथ्यांक छ ।”

Karan-Chaudhary-(2)-1756037175.jpg
नाडाको ६ दिन ऐतिहासिक उपलब्धि भएको चौधरी बताउँछन् । “नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका यी उपलब्धिहरूलाई एउटा शुभारम्भको रूपमा लिएको छु । यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,” अध्यक्ष चौधरीले भने ।

समापन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नाडाले गरेको नीतिगत विषयलाई आफूले पनि मन्त्रिपरिषद्‌मा उठाउने बताए । नेपालमा प्रत्येक वर्ष हजारौँ मानिसको सडक दुर्घटना हुने गरेको र त्यसलाई सडक सुरक्षाका बारेमा प्रभावकारी बनाउन सके कम हुने उनको भनाइ छ ।

Pradeep-Paudel-(2)-1756037175.jpg
“अहिले सरकारी तथ्यांकअनुसार प्रतिदिन सात जनाको मृत्यु भएको देखिन्छ,” उनले भने,“सरकारी तथ्यांक सही नहुन सक्छ । कतिपय दुर्घटना दर्ता भएका हुँदैनन् । त्यसकारण यो निकै ठूलो संख्या हो ।”

प्रदर्शनीमा नाडाले हरेकदिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । यसैक्रममा शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको उपस्थितिमा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

NADA-FINAL-1756037176.jpg
 

आइतबार समापनका कारण प्यानल डिस्कसन कार्यक्रम नराखिएको नाडाले जनाएको छ ।

हेर्नुहोस् भिडियो



तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्