काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको लाभांशसम्बन्धी १५ प्रतिशतको क्याप हटेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै नयाँ व्यवस्था लागु गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब लघुवित्तले लाभांश वितरण गर्दा आफ्नो खराब कर्जा र लाभांश वितरणपछिको पुँजीकोष अनुपात ख्याल गर्नुपर्ने भएको छ ।
निष्क्रिय कर्जा पाँच प्रतिशत भएका लघुवित्तले २५ प्रतिशत लाभांश वितरण गर्न पाउने भएका छन् । तर, लाभांश वितरण गरिसकेपछिको पुँजीकोष अनुपात १२ प्रतिशत हुनुपर्ने छ ।
त्यसैगरी पाँचदेखि १० प्रतिशत निष्क्रिय कर्जा अनुपात भएका लघुवित्तले २० प्रतिशत र १० देखि १५ प्रतिशत निष्क्रिय कर्जा भएका लघुवित्तले १५ प्रतिशत लभांश दिन पाउने भएका छन् ।
तर, लाभांश वितरण गर्दा १० देखि १२ प्रतिशत पुँजीकोष अनुपात हुन्छ भने लाभांश प्रतिशत पनि घट्ने नियम लागु गरिएको छ । लाभांश वितरणपछिको पुँजीकोष १० देखि १२ प्रतिशत भएमा खराब कर्जा पाँच प्रतिशत भए पनि २० प्रतिशत मात्र लाभांश वितरण गर्न पाउनेछन् । यही पुँजीकोष अनुपातमा भएका लघुवित्तको खराब कर्जा पाँचदेखि १० प्रतशित छ भने लाभांश १५ प्रतिशत र १० देखि १५ प्रतिशत खराब कर्जा हुनेले १० प्रतिशत लाभांश वितरण गर्न पाउनेछन् ।
पुँजीकोष अनुपात आठदेखि १० प्रतशित हुने लघुवित्तले पाँच प्रतिशत खराब कर्जा भए पनि १५ प्रतिशत, पाँचदेखि १० प्रतिशत खराब कर्जा हुनेले १० प्रतिशत र १० देखि १५ प्रतिशत खराब कर्जा भएकाले पाँच प्रतिशत लाभांश वितरण गर्न पाउनेछन् ।
१५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने लघुवित्तले लाभांश वितरण गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ । लघुवित्तले न्यूनतम नौ प्रतिशत पुँजीकोष कायम गर्नुपर्नेछ ।