काठमाडौं । नाडा अटो शोमा जिली इएक्स–५ विद्युतीय गाडी उल्लेखनीय बुकिङ भएको छ । नाडामा पहिलोपटक सहभागी भएको जिली इएक्स–५ का १८७ गाडीको बुकिङ भएको हो ।
म्याक्स र प्रो गरी दुईवटा भेरियन्टमा प्रदर्शनीमा राखिएको जिली इएक्स–५ को स्टलमा अवलोकनकर्ताको उल्लेख्य भिड थियो ।
अत्याधुनिक प्रविधि, अधिक रेञ्ज र आकर्षक डिजाइनका कारण इएक्स–५ ले भरपर्दो, प्रिमियम र स्टाइलिस ईभी खोज्ने ग्राहकलाई प्रभावित गर्दै उल्लेख्य संख्यामा बुकिङ प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ ।
“नाडामा जिली इएक्स–५ ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई अधिक हौसला प्रदान गरेको छ,” एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने, “६ दिनमै १८७ वटा बुकिङ हुनु जिलीको नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो ।”
श्रेष्ठका अनुसार, जिली इएक्स–५ श्रृंखलामा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरूलाई आकर्षित गराएको हो ।
गाडी निर्माता जिली होल्डिङ ग्रुप आफैँले उत्पादन गरेको यो ब्याट्रीले एट (आठ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित छ ।
ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमी अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै अधिक रहेको कम्पनीको दाबी छ । साथै, आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरूको ब्याट्रीमा आठ वर्ष वा एक लाख ६० हजार किमीसम्म वारेन्टी समेत दिएको छ ।
एलआरआर मोटर्सका अनुसार, नाडामा जिली इएक्स–५ को सफलताले कम्पनीको वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने र नेपालको हरित गतिशील भविष्यलाई समर्थन गर्ने दृष्टिकोणलाई अझ सबल बनाएको छ । बुक गरिएका गाडीहरूको डेलिभरी सोमबार (भदौ ९) देखि सुरु भएको कम्पनीले जनाएको छ ।
ड्रिमस्मार्ट चाइनाको अधिकृत आयातकर्ताको रूपमा नेपालमा जिली इएक्स–५ भित्राउने एलआरआर मोटर्स प्रा. लि. रहेको छ । नाडा अटो शो आइतबारसम्म (भदौ ८) चलेको थियो ।