site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नाफामा गएसँगै पियोर इनर्जीको सोल पावरमा लगानी

काठमाडौं । गत वैशाखमा आईपीओ निष्कासन गरेको सौर्य उर्जा कम्पनी पियोर इनर्जी लिमिटेडले सौर्य उर्जाकै क्षेत्रमा कार्यरत सोल पावर प्रालिमा २६ प्रतिशत लगानी गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा नाफामा गएसँगै पियोरले सोल पावरको सेयर खरिद गरेको हो ।

इनर्जीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको २०८१/८२ को वित्तीय विवरणअनुसार सोल पावरमा प्रतिकित्ता एक सय रुपैयाँको दरले दुई लाख ६० हजार कित्ता सेयर लगानी गरिएको छ । 

पियोर इनर्जीले आर्थिक वर्ष २०८१/८२ मा तीन करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोढ ९२ लाख रुपैयाँ पुगेको छ । एक करोड ५१ लाख रुपैयाँ अन्य आम्दानी पनि गरेको वित्तीय विवरणमा उल्लेख छ । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनी एक करोड ७५ लाख ८० हजार रुपैयाँ खुद घाटामा थियो ।

पियोरले बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि व्यापारिक उत्पादन गरिरहेका छन् । गोल्यान समूहअन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने सोलार कम्पनी हो ।

कम्पनीको वार्षिक वित्तीय विवरणले विद्युत् बिक्रीको आम्दानी बढेको कारण कम्पनी नाफामा गएको देखिन्छ । गत वैशाखमा आईपीओ निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४।७० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १००।४८ रुपैयाँ रहेको छ ।

सोल पावर प्रालिले पाँचवटा सोलार परियोजना निर्माण गरिरहेको छ । प्रालिअन्तर्गत कन्चनपुरमा १५ मेगावाटको कृष्णपुर सोलार परियोजना, बर्दियामा २५ मेगावाटको भुरिगाउँ–१ सोलार परियोजना, बाँकेमा ३० मेगावाटको न्यू नेपालगन्ज सोलार परियोजना र नवलपरासीमा १५–१५ मेगावाटको परासी सोलार परियोजना तथा सुनवल सोलार परियोजना सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्