काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।
हाल नेपाल राष्ट्र बैंकबाट निष्कासित विकास ऋणपत्र तीनदेखि १५ वर्ष अवधिसम्मका छन् । तीन वर्षका निम्ति विकास ऋणपत्र–२०८५ ‘ढ’ बोलकबोलमार्फत जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जनाएको छ ।
उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अरू व्यक्ति, फर्म, संस्था वा कम्पनीले बुधबार (भदौ ११) बिहान १० देखि दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् ।
ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन प्रणालीको मध्यमबाट बोलकबोल पेस गर्नुपर्छ । ऋणपत्रको साँवा भुक्तानी ०८५ भदौ १२ गते गरिनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । त्यस्तो ब्याजमा आयकर लाग्नेछ ।
ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड रुपैयाँ छुट्ट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्ट्याइएको रकमका निम्ति पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धीलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।
अप्रतिस्पर्धी बोलवालालाई छुट्ट्याइएको रकमभन्दा बढीको बोल प्राप्त भएमा समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।
ऋणपत्रमा घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेस गर्नुपर्छ ।
ऋणपत्र खरिदका निम्ति व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एकमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिस्पर्धीका रूपमा भाग लिन पाउने छैनन् । न्युज एजेन्सी नेपाल