काठमाडौं । निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले ‘महादशा’ चलचित्र निर्माण गर्ने भएका छन् ।
बुधबार काठमाडौंमा चलचित्रको प्रि–टिजर सार्वजनिक गर्दै नाम घोषणा गरिएको हो ।
‘महादशा’को प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ । निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि दिइनेछ ।
मनिष गौतमले लेखेको चलचित्रमा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन् । सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् ।
चलचित्रले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ ।