काठमाडौं । नेपालमा हाइड्रोजनमा लगानी गर्न कोरियन कम्पनी इच्छुक देखिएको छ । दक्षिण कोरियाली कम्पनी जी–फिलोस कोअपरेटिभ लिमिटेड र लगानी बोर्ड नेपालबीच बिहीबार समझदारीमा हस्ताक्षर हुने भएको हो ।
बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार, जी–फिलोसले ५० करोड अमेरिकी डलर (सात अर्ब बढी) लगानीको प्रस्ताव गरेको हो । जसमा कम्पनीले ग्रीन हाइड्रोजन अध्ययन लगायतका काम गर्नेछ । कम्पनीले २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन सुरु गर्ने उपाध्यायले जनाए ।
कम्पनीले कहाँ प्लान्ट बनाउने यकिन भइनसकेको बोर्डको भनाइ छ । “कम्पनीले बुझाएको प्रस्ताव बोर्डले अध्ययन गर्यो । बोर्डले बिहीबार कम्पनीसँग एमओयू गर्ने तयारी छ,” उनले भने ।
उनका अनुसार, ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाको लागि आएको यो पहिलो विदेशी लगानीसम्बन्धी प्रस्ताव हो । उक्त प्लान्टले नेपालको खेर जाने जलविद्युत्बाट प्रयोग गरी इलेक्ट्रोलाइसिस विधि (पानी र विद्युत्को रासायनिक प्रक्रिया) मार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ । उत्पादित ग्रीन हाइड्रोजनलाई स्टिल तथा मल उद्योग, अमोनियम नाइट्रेट उत्पादन एवं भण्डारणमा गर्न सकिनेछ ।
बोर्डले यसलाई ‘अनसलिसिटेड’ प्रोजेक्टको रूपमा राखेको छ । कम्पनीले लगानी बोर्डमा गत वैशाख १५ मा परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन पेस गरेको थियो । जेठ १३ मा बसेको लगानी बोर्डको ६३औँ बैठकले उक्त कम्पनीलाई नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिएको थियो ।
पछिल्लो समय वर्षायाममा विद्युत् उत्पादन उच्च हुने गरेको छ । उक्त समयमा बगेर जाने विद्युत्को प्रयोग गरी हरित हाइड्रोजन ग्यास विश्वका अन्य देशमा निर्यातको सम्भावना रहेको उपाध्याय बताउँछन् ।
सरकारले ग्रीन हाइड्रोजनको उत्पादन, उपभोग र विकासका लागि ‘ग्रीन हाइड्रोजन नीति २०८०’ जारी गरिसकेको छ ।