site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शिक्षामन्त्रीले गरे टीभीईटी विद्यालय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली शुभारम्भ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौंमा आयोजित ‘गुणस्तरीय टीभीईटी ः अहिलेको आवश्यकता’ राष्ट्रिय सेमिनारमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) विद्यालयहरूको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली औपचारिक रूपमा शुभारम्भ गरेका छन् । यसलाई नेपालमा टीभीईटी सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको बताइएको छ ।

मन्त्री पन्तले पछिल्ला दुई दशकमा प्राविधिक क्षेत्रमा आएको परिवर्तनको चर्चा गर्दै युवालाई रोजगारी योग्य बनाउन गुणस्तरीय टीभीइटी अपरिहार्य भएको बताए । उनले शिक्षा प्रणालीलाई वर्तमान आवश्यकताअनुसार अघि बढाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा सीटीईभीटीका सदस्य–सचिव इ. महेश भट्टराईले प्रत्यायन प्रणालीले नेपालमा टीभीईटी सुदृढीकरण गर्ने विश्वास व्यक्त गर्दै गुणस्तर परिणाम देखिनुपर्ने बताए । 

इटीएच जुरिचकी प्रा. डा. उर्सुला रेनोंल्डले अन्तर्राष्ट्रिय मापदण्ड र उद्योगसँगको सहकार्यलाई रणनीतिक रूपमा अपनाउन सुझाव दिइन् ।

स्वीसकन्ट्याक्ट, यूएनईएससीओ र एसडीसीका प्रतिनिधिहरूले निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । सेमिनारमा प्यानल छलफलमार्फत नेपालमा टीभीईटीको अवस्था, चुनौती र सुधारका प्राथमिकतामाथि खुला संवाद भएको थियो ।

कार्यक्रमले टीभीईटीलाई नेपालको दीर्घकालीन विकास रणनीतिको आधारशिला बनाउँदै युवालाई सशक्त बनाउन सबै सरोकारवालाको प्रतिबद्धता प्रकट गरेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्