काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै चलचित्रको छायांकन सुरु गरेका थिए ।
चलचित्रका निर्माता रामकृष्ण ढकालले राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने बताए । दर्शकलाई नेपाली समाजसँग जोड्ने भावनात्मक कथा पस्किने चलचित्र बनाउने बताए ।
चलचित्रमा विजय, वर्षासँगै मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौलालगायत कलाकारको अभिनय रहनेछ ।
चलचित्रको निर्देशन प्रकु पाण्डेयले गर्नेछन् । कथा पनि निर्देशक स्वयंले नै लेखेका छन् ।
कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार चलचित्रको मुख्य छायांकन तनहुँ र स्याङ्जामा हुनेछ ।