काठमाडौं । नेपालमा हवाई कार्गो सेवालाई थप डिजिटल बनाउन यती एयरलाइन्सले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याउने भएको छ । उपाय सिटी कार्गो प्रालिसँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुआत गर्न लागेको हो ।
ग्राहकले यती एयरलाइन्समा कार्गो पठाउनका लागि उपायको अत्याधुनिक लजिस्टिक्स प्लेटफर्म प्रयोग गरी घरमै बसीबसी ‘डोर टु डोर कार्गो सेवा’ बुक गर्न सक्नेछन् । अब कार्गो पठाउन एयरपोर्ट वा कार्यालय धाउनुपर्ने छैन । उपायले बुकिङअनुसार, ग्राहकको घरमै सामान लिन आउने र गन्तव्यसम्म पुर्याइदिनेसम्मको सेवा प्रदान गरिनेछ ।
प्रमुख सुविधा
यसले घरमै आइपुग्ने र तोकिएको स्थानसम्म पुर्याउने कम्पनीले जनाएको छ । डिजिटल बुकिङ र ट्रयाकिङले मोबाइल वा वेबमार्फत सजिलै बुकिङ गर्न सकिने र सामानको स्थिति रियलटाइममा ट्रयाक गर्न सकिनेछ ।
विकल्पको सुविधा र चाहनाअनुसार उपाय हबमा कार्गो छोड्न वा परम्परागत एयरपोर्ट टु एयरपोर्ट सेवा लिन सकिने कम्पनीको दाबी छ ।
“यती एयरलाइन्ससँगको यो साझेदारीले नेपालको कार्गो सेवा क्षेत्रमा नवीन युगको सुरुआत गर्नेछ । उपाय कम्प्लिट अत्याधुनिक प्रविधिमार्फत हामी सम्पूर्ण प्रक्रियालाई डिजिटलाइज गर्दै छौँ, जसले ग्राहकलाई पूर्ण पारदर्शी र विश्वासिलो सेवा अनुभव प्रदान गर्नेछ,” उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने ।
यो सेवा सुरुआत गर्नुको मुख्य उद्देश्य बताउँदै यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, “यती एयरलाइन्सको प्रतिबद्धता सदैव नेपाललाई छिटो र भरपर्दो रूपमा जोड्ने हो । उपायको प्रविधि र दक्षता तथा हाम्रो हवाई सञ्जाल संयोजन हुँदा देशभरका व्यवसाय र व्यक्तिगत ग्राहकका लागि विश्वसनीय कार्गो सेवा सम्भव हुनेछ ।”