काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्यांग्राको अग्रिम बुकिङ खुला गरेको छ । कम्पनीले दसैँका लागि मंगलबार (आज)देखि खसीबोका र च्यांग्राको बुकिङ खुला गरेको हो । ग्राहकले अनलाइनमार्फत आफूलाई आवश्यक पर्ने खसीबोका र च्यांग्रा बुकिङ गरेर असोज १४ गतेसम्म लिन सक्नेछन् ।
अग्रिम बुकिङका लागि खसीका लागि चार हजार र च्यांग्राका लागि पाँच हजार रुपैयाँ बुझाउनुपर्नेछ । यो अग्रिम शूल्क इसेवा र खल्तीबाट भुक्तानी गर्नुपर्नेछ । यसरी बुझाएको रकम फिर्ता नहुने कम्पनीले जनाएको छ ।
बुकिङ गर्दा प्राप्त कोड लिएर खसीबोका लिन जानुपर्नेछ । खसीबोका र च्यांग्राको मूल्य भने तोकिएको छैन । खाद्यले यो वर्ष १५ सय खसीबोका र ५०० च्याग्रा ल्याउने तयारी गरेको छ ।
अनलाइन बुकिङ बढ्दै गए त्यहीअनुसार खसीबोका र च्यांग्रा खरिद बढाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले बताए ।
यस्ता छन् सर्त :–
१. अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि मात्र बुकिङ मान्य हुनेछ । बुकिङको कोड नम्बर/खसीबोका र च्यांग्रा संकलनको समयमा अनिवार्यरूपमा देखाउनु पर्नेछ ।
२. कम्पनीले उपभोक्ताको माग बमोजिम बस्तु उपलब्ध गराउन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा अग्रिम भुक्तानीवापतको रकम फिर्ता हुनेछैन ।
३. उपभोक्ता कम्पनीको बिक्री केन्द्रमा आएर खसीबोका छनोट गरेपछि पर्न आउने कुल मूल्यमा अग्रिम भुक्तनीबापतको रकम घटाएर बाँकी रकम भुक्तानी गर्नुपर्नेछ ।
४. खसीबोकाको मूल्य कम्पनीले निर्धारण गरेको प्रतिकिलो दर अनुसार हुनेछ । तौलमा सानोतिनो भिन्नता हुनसक्छ, अन्तिम रकम वास्तविक तौलनुसार निर्धारण हुनेछ ।
५. तोकिएको मितिमा यस कम्पनीको वाग्मती प्रादेशिक कार्यालय, थापाथली प्रांगणबाट मात्र खसीबोका र च्यांग्राहरू प्राप्त गर्न सकिनेछ । आफूले बुकिङ गरेको बस्तु समयमै लिन नआएर पछि दाबी गर्न आएमा अग्रिम भुक्तानीबापतको रकम फिर्ता गरिने छैन ।
६. कम्पनीले उपलब्ध गराउने खसीबोका र च्यांग्राहरू स्वस्थ्य र मापदण्डअनुरूपका हुनेछन् । विशेष जात वा रंगको सुनिश्चितता गर्न सकिने छैन ।
७. यी सर्त नेपालका प्रचलित कानुनअनुसार लागु हुनेछन् । विवाद भएमा प्रचलित कानुनबमोजिम हुनेछ ।