site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य किन बढिरहेको छ ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ । आज (भदौ १७) सुन प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । सोमबार (भदौ १६) सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । सोमबारको रेकर्ड मंगलबारको मूल्यले तोडेको हो । 

विश्वभर नै आर्थिक अन्योलता बढेर जाँदा दैनिक सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले बताए । 

यसका साथै नेपालमा विलासिता करले गर्दा पनि मूल्य केही बढ्न गएको उनी बताउँछन् । “सुनको मूल्य बढ्छ भनेर मैले पहिले नै भनेको थिए । अझै बढ्दै जान्छ, नेपालीले किन्न नसक्ने स्थिति हुन सक्छ,” शाक्यले बाह्रखरीसित भने, “अन्तर्राष्ट्रिय रूपमा नै सुनचाँदीको मूल्य बढ्दै गएको छ । भूराजनीति तनाव, अमेरिकी डलर र ब्याजदरका कारणले सुनचाँदीको मूल्य लगातार बढिरहेको हो ।” 

सुनचाँदीको मूल्य डलरमा निर्धारण हुन्छ । अहिलेको अवस्थामा विश्वका मुद्रासँग डलर कमजोर हुँदै गएको र अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाइरहेको छ । 

बैंकको ब्याजदर कम हुँदा लगानीकर्ता सुनचाँदी खरिदमा आकर्षित हुन सक्ने अनुमान गरिएको छ । नेपालमा सरकारले लगाएको दुई प्रतिशत बिलासिता करका कारणले पनि केही मूल्य वृद्धिमा ‘सपोर्ट’ गरेको शाक्य बताउँछन् । बजारमा सुनको मूल्य महँगो भएपछि कारोबार घट्ने उनको भनाइ छ । 

नेपालमा पहिले १० लाखभन्दा बढी सुन खरिद गर्दा लाग्ने बिलासिता कर यो आर्थिक वर्षबाट जतिसुकै खरिद गर्दा लाग्ने भएको छ । यो विलासिता करका कारण पनि उपभोक्तालाई सुन महँगो पर्न आउने उनी बताउँछन् । 

यसरी मूल्य बढ्दै जाँदा सुन व्यवसायमा नै संकट आउन सक्ने उनको भनाइ छ । “विलासिता करले नेपालमा मात्र प्रभाव पर्ने हो । सुनचाँदीको मूल्य बढ्दै गर्दा व्यवसाय गर्न नै कठिन हुने स्थिति आएको छ । रोजगारी गुम्ने खतरा बढेको छ,” उनले भने ।

आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले सोमबारको रेकर्ड आज तोडेको छ ।  

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्