site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशमा गरिने पुनर्बिमाको भुक्तानी गर्न प्राधिकरणको स्वीकृत लिनुपर्ने

काठमाडौं । नेपाल बिमा प्राधिकरणले पुनर्बिमा, रेट्रोसेसन र विदेशबाट आयात गर्ने परामर्श सेवाबापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्न ‘बिमकको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । 

प्राधिकरणले बुधबार (भदौ १८ गते) जारी गरेको बिमकको विदेशी मुद्रा सटही सफारिससम्बन्धी निर्देशन, २०८२’ मा बिमा कम्पनीले विदेशी बिमक वा पुनर्बिमक वा नेपाल रहेका बिमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बिमकलाई सेवा प्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सिधै वा बिमा दलालको संलग्नतामा गरिएको पुनर्बिमासँग सम्बन्धित पुनर्बिमा शुल्क तथा बिमा दाबी रकम, लाभांश फिर्ता र परामर्श सेवा लिएबापतको रकम भुक्तानी प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्ने गरिएको छ । 

निर्देशनमा विदेशी बिमक वा विदेशी ब्रोकरलाई बिमाको दाबीबापतको भुक्तानी गर्दा ट्रिटी वा (फ्याकल्टेटिभ) हिसाब–किताब मिलान गरी तोकिएबमोजिमका कागजात संलग्न गरी प्राधिकरणमा पेस गर्नुपर्ने, बिमकले बिमांकीको पारिश्रमिक, विशेषज्ञ सेवा, क्रेडिट रेटिङ सेवा तथा परामर्श सेवा शुल्क, विदेशी सर्भेयरको पारिश्रमिक, सफ्टवेयरसम्बन्धी भुक्तानी र तेस्रो पक्ष सहजकर्ताका लागि निर्देशनमा तोकिएका कागजातहरू संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पुनर्बिमा वा रेट्रोसेसनबापत विदेशी मुद्रा सटही सिफारिस गर्दा प्राधिकरणले जारी गरेको ‘बिमकको पुनर्बिमा निर्देशिका’ बमोजिम सूचीकरण भएका विदेशी पुनर्बिमक तथा पुनर्बिमा दलाल र सोही निर्देशिका बमोजिमको रेटिङ प्राप्त पुनर्बिमकका लागि मात्र सिफारिस गरिने पनि निर्देशनमा उल्लेख छ ।

बिमकले विदेशी मुद्रा सटही सिफारिस मागका लागि पेस गरेका कागजातहरू तथा स्वीकृतिपत्र कार्य सम्पन्न भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने, बिमकले भुक्तानी गरेको विदेशी मुद्राको विवरण तोकिएबमोजिमको ढाँचा वा प्रणालीमा प्रत्येक चौमास समाप्त भएको मितिले १५ दिनभित्र प्राधिकरणमा पेस गर्नुपर्ने पनि निर्देशनमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्