काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा गरी दैनिक साढे नौ सय मेगावाटको हाराहारी विद्युत् बेच्न थालेको छ । भारतीय बजारमा ११२५ र बंगलादेशमा ४० मेगावाट गरी ११६५ मेगावाट बिक्री गर्ने अनुमति प्राधिकरणले पाएको छ ।
आन्तरिक खपतबाट जगेडा बिजुली भारतीय बजारमा बिक्री गरिररहेको हो । हाल औसतमा साढे ९ सय मेगावाट बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री भइहरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले हाल ३३ वटा कम्पनीको ११२५ मेगावाट बिजुली भारतीय बजारमा बिक्रीको अनुमति पाएको छ ।
तर, हाल सरदर नौ सय मेगावाटको हाराहारीमा बिजुली भारततर्फ निर्यात भइरहेको प्राधिकरण बताउँछ । यस्तै दुईवटा कम्पनीका ४० मेगावाट बिजुली बंगलादेशमा बिक्री दैनिक गरिँदै छ ।
प्राधिकरणले भारतीय अनुदानमा निर्मित तथा आफ्नो स्वामित्वको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २२ मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै छ ।
वर्षायामको ६ महिना (१५ जुन–१५ नोभेम्बर) मध्यकालीन सम्झौतामार्फत पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्रीको अनुमति गतवर्ष असोज १७ मा पाएको थियो ।
प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्टमा बिक्री गरिरहेको छ । यस्तै भारतर्फ ५२१.७ मेगावाट भारतीय ऊर्जा खरिद–बिक्री बजार (आईईएक्स) मा र ६०३.३७ मेगावाट मध्यम अवधिको सम्झौतामार्फत भारतमा बिक्रीको अनुमति छ ।
प्राधिकरणले आइएक्समा सोलुखुम्बु अपरसोलु आयोजनाको २२.८ मेगावाट, ६७ मेगावाटको मस्र्याङदी, १४० मेगावाटको कालीगण्डकी ए, ६८ मेगावाटको मध्य मस्र्याङदी, ५१ मेगावाटको लिुख–४ आयोजना छन् ।
यस्तै २४.३ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए, २४.३ मेगावाटको काबेली बी–१, ३४.९ मेगावाटको माथिल्लो बलेफी ए, ३२.७ मेगावाटको माथिल्लो कलंगागाढ र ३७.३ मेगावाटको अपर चमेलिया आयोजना आइएक्समा बिक्रीको अनुमति पाएको छ ।
आईईएक्समा १२ वटा आयोजनाको ५२१.७ मेगावाट बिक्रीको अनुमति छ । मध्यकालीन सम्झौताअन्तर्गत २६.२ मेगावाट क्षमताको दोर्दीखोला, ७५ मेगावाटको लिुख–१, १४.६ मेगावाटको देवीघाट, ५०.९ मेगावाटको लिुख–२, २८.२ लिखु खोला ए, ८० मेगावाटको तल्लो सोलु, २०.७ मेगावाटको ठूलो खोला, १३.१ सुपर काबेली खोला ए, ६.८ मेगावाटको सुपर काबेली, १४.५ मेगावाटको माया खोला, ११.६ मेगावाटको दोर्दी–१ खोलाको बिजुली बिक्री पाउने सूचीमा पर्छन् ।
त्यसरी नै १० मेगावाटको तल्लो पिलुवा, १०.७ मेगावाटको तल्लो खहरे, ११.६ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती, १४.४ मेगावाटको मोदी, १४.६ मेगावाटको गण्डक आयोजना मध्यकालीन सम्झौतामार्फत पाँच वर्षको लागि भारततर्फ बिक्रीको अनुमति छ ।
यस्तै ११.६ मेगावाट क्षमताको दुधकुण्ड खोला, १९.२ मेगावाटको माथिल्लो सोलु, ४८.५ मेगावाटको मेवा खोला र ३१ मेगावाट क्षमताको करुवा सेती आयोजनाको बिजुली मध्यकालीन सम्झौताअन्तर्गत भारत निर्यातको अनुमति पाएको छ ।
प्राधिकरणले मध्यकालीन सम्झौता अन्तर्गत वर्षायाममा उत्पादित बिजुली प्रतियुनिट ८ रुपैयाँ ४० पैसा (५.२५ पैसा भारु) मा बिक्री गर्न पाउनेछ । आईईएक्सतर्फ भने ‘डे अहेड’ र रियल टाइम मार्केटमा बिजुली बिक्री गरिरहेको छ । डे अहेडमा अघिल्लो दिन नै बिक्रीका लागि बोलकबोल गर्नुपर्छ ।
यस्तै रियल टाइममा भने आधा घण्टा अगाडि बोलकबोल गर्न सकिन्छ । आईईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुन्छ ।
प्राधिकरणले ०७८ कात्तिक १६ बाट भारतीय बजारमा बिजुली बिक्रीको अनुमति पाएको थियो । हाल उक्त परिमाण ११२५ मेगावाट पुगेको छ । तर, वर्षायामको अन्त्यतिर आइपुग्दा पनि पूर्ण क्षमतामा निर्यात गर्न सकेको छैन ।
प्राधिकरणले गत आर्थिक वर्ष (२०८१/८२) मा साढे १७ अर्ब बराबरको बिजुली निर्यात गरेको थियो ।
गत आर्थिक वर्षमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको जनाएको छ । दुवै देशमा निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ छ ।
यस्तै, गत आर्थिक वर्षमा भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात भएको थियो । नेपाल आर्थिक वर्ष ०८०/८१ बाट खुद निर्यातकर्ता बनिसकेको छ । ०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो । उक्त आर्थिक वर्षमा १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत–बंगलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बंगलादेशसम्म पुग्न थालेको छ । विद्युत् उत्पादन क्षमता ३८ सय मेगावाटमाथि पुगेको छ । तर, उत्पादन पूर्ण क्षमतामा हुन सकेको छैन । यसले भारततर्फ समेत पूर्ण क्षमतामा निर्यात हुन सकेको छैन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्यांक अनुसार विद्युत् जडित क्षमता ३,८७८ मेगावाट पुगेको छ । गत आर्थिक वर्षमा मात्र ४३४ मेगावाट थपिएको छ । जसमा ४०९ मेगावाट जलविद्युत् र २५ मेगावाट सौर्य (सोलार) विद्युत् छ ।
त्यसैगरी, वैकल्पिक ऊर्जाबाट ९१ मेगावाट र परीक्षण चरणमा रहेका १९६ मेगावाट जलविद्युत् आयोजनासहित कुल क्षमता तीन हजार ८ सय ७८ मेगावाट पुगेको हो । विद्युत् उत्पादन सुरु भएको एक सय १४ वर्षको अवधिमा अझैसम्म ४ हजार मेगावाट उत्पादन पुगेको छैन ।
सरकारले १५ हजार मेगावाटमध्ये १० हजार मेगावाट स्वदेशमै खपत गर्ने र बाँकी ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको थियो ।
सरकारले पनि १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ । तर, ‘टेक एण्ड पे’ बजेटमा राखेपछि र त्यसको संशोधन समेत नभएका कारण विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) ठप्प छ ।
