काठमाडौं । महालक्ष्मी विकास बैंकले चाडपर्वलक्षित बैंकको क्रेडिट कार्ड सुविधाको सुरुआत गरेको छ । चाडपर्वमा विभिन्न देश घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुआत गरेको हो ।
यसअन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीसँग व्यावसायिक सहकार्यका निम्ति सम्झौता समेत गरिसकेको छ । प्रारम्भिक चरणमा पर्यटकले गुरु ट्राभल्स लिमिटेड दरबारमार्ग र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्स उत्तरढोकामार्फत यो सुविधा लिन सक्नेछन् ।
सम्झौताअन्तर्गत महालक्ष्मी विकासका क्रेडिट कार्डवाहकले ट्राभल एजेन्सीमार्फत विभिन्न टुर प्याकेज खरिद गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्नेछन् ।
साथै, आफूले खरिद गरेको टुर प्याकेजको मूल्यबराबरको रकमको भुक्तानी ६ देखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न समेत सक्नेछन् ।
आफूले खरिद गरेको टुर प्याकेजको बिल पेस गरेपश्चात् महालक्ष्मी विकास बैंकले सहज रूपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ ।