काठमाडौं । प्रतिकूल अवस्थाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्ण रूपमा प्रभावित भएको छ । आन्तरिक उडान पूर्ण रूपमा ठप्प छ । अन्तर्राष्ट्रियतर्फका आधा दर्जन विमान आकाशमा ‘होल्ड’ भएका छन् । हिमालय एयरलाइन्सको विमान ‘डाइभर्ट’ गरिएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, मंगलबार (भदौ २३)का निम्ति आन्तरिक उडान बन्द गरिएको छ । अन्तर्राष्ट्रियतर्फका विमानबारे छिट्टै निर्णय लिइने उनले बताए ।
‘फ्लाइट रार्डर’का अनुसार, सिमरामाथिको आकाशमा ती विमानले केही बेर फन्को लगाएका थिए । भारतको मुम्बईबाट आएको एयर इन्डिगो, नयाँ दिल्लीबाट आएको इन्डिगो र नयाँ दिल्लीबाटै आएको भिस्तारा एयरलाइन्स ‘होल्ड’ भएका थिए ।
यस्तै, थाइल्यान्डको राजधानी बैंककबाट आएको एयर एसिया, बैंककबाटै आएको थाई लायन र बंगलादेशको राजधानी ढाकाबाट आएको विमान बंगलादेश होल्डमा बसेका हुन् ।
विमानस्थलको दक्षिणतर्फ ठूलो आगजनी र धुवाँको मुस्लो रहेकाले सुरक्षालाई मध्यनजर गदै हवाई उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । रासस