काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभरको आन्दोलनका क्रममा जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति चेम्बरले श्रद्धाञ्जली अर्पण गरेको छ । शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भरी क्षति भएको चेम्बरले उल्लेख गरेको छ । चेम्बरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
भ्रष्टाचार निवारण, सुशासन कायम, राज्यसंयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँचजस्ता जेनजीले उठाएका विषयलाई सबै सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।
आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खलबल्याउने र लगानीमैत्री स्थितिमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्ने चेम्बरले औँल्याएको छ ।
आउँदो दिनमा यस्ताखाले घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेनजी पुस्ताका युवालाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न चेम्बरले आह्वान गरेको छ । मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको चेम्बरले धारणा व्यक्त गरेको छ ।