काठमाडौं । यातायात व्यवसायीले बडादसैंका निम्ति अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेका छन् । दसैँ नजिकिएसँगै गाडी भाडा नबढाई अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरिएको हो ।
सार्वजनिक यातायात राष्ट्रिय महासंघका महासचिव भरत नेपालले देशमा वर्तमान विषम परिस्थितिमा भाडा नबढाइने जानकारी दिए । “दसैँको अग्रिम टिकटका लागि छलफलमा जुट्दै छौँ । भाडा बढ्दैन,” उनले बाह्रखरीसित भने ।
दसैँको मुखमा आएर भाडा बढाउनु यातायात व्यवसायीको नैतिकताले पनि नदिने उनले बताए ।
उनका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधिलगायत अधिकारीसँग छलफलपश्चात् अग्रिम टिकट खोलिनेछ ।
यो वर्ष आउँदो असोज ६ गते घटस्थापना परेको छ । दसैँको टीका असोज १६ गते परेको छ ।