site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डलरको मूल्य बढेर पुग्यो १४१.५५ रुपैयाँ

काठमाडौं । अमेरिकी डलरसँग नेपाली रुपैयाँ (नेरु) कमजोर बनेको छ । आइतबार (भदौ २९) एक डलरबराबर १४१.५५ रुपैयाँमा कारोबार भएको छ । भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो ।

आइतबार एक डलरबराबर ८८.२७ भारु पुगेको छ । अमेरिकाले ५० प्रतिशत भन्सार शुल्क लगाएपछि यसको असर भारतको अर्थतन्त्रमा पर्दा डलर महँगो हुन गएको हो ।

नेरु कमजोर हुनुमा नेपालको अर्थव्यवस्था कारण नभई भारतसँग सम्बन्धित छ । भारुसँग नेरुको स्थिर विनिमयदर (फिक्सड पेग) छ । यसकारण डलरसँग भारु कमजोर वा बलियो हुँदा यसको सकारात्मक र नकारात्मक असर नेरुमा पर्ने गरेको छ ।

स्थिर विनिमयदरका कारण भारतको अर्थतन्त्र मजबुद भए नेरु पनि बलियो हुन्छ । कमजोर बन्दा अवमूल्यन हुने गरेको छ ।

गएको जेठसम्म एक डलरबराबर १३६ रुपैयाँ आसपास थियो । मध्यपूर्वमा युद्ध सुरु भएसँगै डलर बलियो बन्दै गएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गएको माघमा प्रतिडलरको मूल्य बढेर १४१ रुपैयाँनजिक पुगेको थियो । त्यसपछि घटेर १३६ रुपैयाँ आसपास थियो ।

डलरको भाउ बढेपछि भारतजस्ता उदीयमान मुलुकमा चिन्ता थपिएको छ । १५ वर्षको अवधिलाई विश्लेषण गर्दा डलरसँग नेपाली मुद्रा निरन्तर कमजोर हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, सन् २०११/०१२ मा एक डलरबराबर ८१ रुपैयाँ थियो । आजको दिनमा त्यो ६२ रुपैयाँले कमजोर भएको छ ।

भारतमा डलर सञ्चिति बढेर सात खर्ब डलर पुगेको छ । नेरु घट्दा निर्यातको अवस्था कमजोर भएकाले नेपालमा असर पर्दै आएको छ । यसबाट आयातित वस्तु थप महँगो हुने देखिन्छ । कच्चा वस्तुको भाउ बढेर उद्योगको उत्पादन लागत बढ्नेछ ।

विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ । हाल डलरका कारण विश्वबजारमा सुन र खाद्यान्नलगायत अरू दैनिक उपभोग्य वस्तुको भाउको ‘ग्राफ’ उकालो लागेको छ ।

डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यस बेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् ।

यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउँछन् ।

यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ । र, आयात गरिने वस्तु महँगो हुन जान्छ । विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ । भाउ पनि बढ्छ ।

अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा थप भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ ।

विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमणमा जानेलाई डलरको भाउ बढेपछि असर पर्नेछ । 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्