site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडि बढ्न सिबिफिनको आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडि बढ्न बैंक तथा वित्तीय क्षेत्रलाई आग्रह गरेको छ । सिबिफिनले विज्ञप्तिमार्फत सुशासनको प्रत्याभूतिका लागि जेनजी अभियन्ताहरूको आह्वानमा भएको आन्दोलनले पुर्‍याएको क्षति स्मरण गराउँदै कठिन एवं भयावह अवस्थाबाट मनोबल उच्च बनाएर उठ्न आग्रह गरेको हो । 

“अन्तरिम सरकारको गठनसँगै शान्तिपूर्ण अवतरण पाएको छ र मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको छ । अत्यासलाग्दो मानवीय एवं भौतिक क्षतिका बाबजुद सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ चरणमा प्रवेशका लागि स्पष्ट सन्देश दिएको र प्रस्थानविन्दु बनेको यस आन्दोलनको जगमा उभिएर युवापुस्ताको आवाज तथा आकांक्षाहरूलाई प्रतिनिधित्व गरेर नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडि बढ्न बैंक तथा वित्तीय क्षेत्र र यस क्षेत्रको छाता संस्था सिबिफिन सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।  

अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सृजना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि नवगठित सरकारले कुनै कसुर बाँकी नराख्नेमा सिबिफिनको विश्वास छ ।

गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्‍याउने तत्वहरूसँग सजग हुन पनि आग्रह गरिएको छ । अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रूपमा रहेका सबल तथा जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना बैंकिङ सेवाहरू सहज रूपमा सञ्चालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन समेत सिबिफिनले आग्रह गरेको छ ।  

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्