site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दसैँतिहारलक्षित सहुलियत पसल ल्याइयो सञ्चालनमा

काठमाडौं । सरकारले यो वर्षको दसैँतिहारलक्षित सहुलियत पसल सोमबार (भदौ ३०)देखि सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाका चार र देशभरका १११ बिक्री केन्द्रबाट सहुलियत पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री वितरण विभागका प्रबन्धक भीम थापाले बताए ।

“हामीले सर्वसाधारणलाई सहज होस् भनेर दसैँलक्षित सहुलियत पसल आजबाट सञ्चालनमा ल्याएका छौँ,” उनले बाह्रखरीसित भने, “काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु र दक्षिणकालीबाट आजबाट सहुलियत पसल सुरु गरेका हौँ ।”

ललितपुरको गोदावारी र भक्तपुरको चाँगुनारायणमा पनि एक/दुई दिनमा सहुलियत पसल सञ्चालन गरिने उनले बताए । सहुलियत पसलमा हरेक सामानमा प्रतिकेजी पाँचदेखि १० रुपैयाँसम्म छुट पाइने उनले जानकारी दिए ।

सहुलियत पसलमा चामल, दाल, गेडागुडी, चिनी, नुन, मसलालगायत सामान खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्