बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको हालसम्मको प्रगति ६१ प्रतिशत पुगेको छ । सुरुङमार्गको भौतिक प्रगति ६१.०६ प्रतिशत पुगेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।
मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर खन्ने काम पूरा भइसकेको छ । बाइपास १ को १५१, बाइपास २ को १६१ र बाइपास ३ को १३० मिटर पनि पूर्ण रूपमा खनिएको उनले जानकारी दिए ।
मुख्य सुरुङमा एक हजार ८९ मिटर लाइनिङ सम्पन्न गरिएको छ । बाइपास १ मा १४५ मिटरमध्ये करिब १२९.७, बाइपास २ मा १५७.८ र बाइपास ३ मा १३० मध्ये १०९.८ मिटर लाइनिङ सम्पन्न गरिएको छ ।
स्लोप प्रोटेक्सन कार्यमा पनि उल्लेखनीय प्रगति भएको छ । दक्षिण पोर्टलमा २३ सय वर्गमिटरमध्ये एक हजार ४९५, उत्तर पोर्टलमा ११ सयमध्ये ४९५, एमआर १ पहाडी भागमा नौ हजार ६२० मध्ये ४८१ र एमआर २ पहाडी भागमा सात हजार ४४० मध्ये एक हजार ४१४ वर्गमिटर सम्पन्न भएको छ ।
यसबाहेक कुल नौ कल्भर्ट पनि निर्माण पूरा गरिएको छ । त्यसमा मुख्य सडकमा पाँच र मुख्य सडक–२ मा चारवटा छन् ।
सुरुङमार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको हो । ठेक्का रकम सात अर्ब ३४ करोड रुपैयाँभन्दा बढी छ ।