काठमाडौं । गत आर्थिक वर्ष ०८१/८२ देखि नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटिरहेको छ । तर, निजी क्षेत्रमा जाने लगानी बढ्न सकेको छैन ।
असारयताको स्थिति हेर्दा महिनैपिच्छे वाणिज्य बैंकहरूको ब्याजदर घटिरहेको छ । आउँदो महिना (असोज)का निम्ति पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् ।
मंगलबार (भदौ ३१) सार्वजनिक ब्याजदरअनुसार, वाणिज्य बैंकहरूको औसत ब्याजदर ५.४६ प्रतिशत कायम छ । भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर ५.५८ प्रतिशत थियो ।
गएको साउनमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर ५.७० र असारमा ५.९० प्रतिशत कायम थियो । ब्याजदर लगातार घट्दै गए पनि निजी क्षेत्रमा प्रवाह हुने कर्जा नकारात्मक देखिएको छ । निजी क्षेत्रको विश्वास कमजोर हुँदा लगानी नबढेको जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकानुसार, साउनसम्म निजी क्षेत्रमा प्रवाह हुने कर्जा दुई अर्ब ९३ करोड रुपैयाँले घटेको छ । साउनसम्म निजी क्षेत्रमा प्रवाह भएको कर्जा ५४ खर्ब ९५ अर्ब पुगेको छ ।
