site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से सीईओ, धितोपत्र बोर्ड र बिमा प्राधिकरणको अध्यक्ष हटाउन लगानीकर्ताको माग

काठमाडौं । सेयर लगानीकर्ताहरूले धितोपत्र क्षेत्र सुधारका लागि नेपाल बिमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डका नेतृत्वले लगानीर्ताको भावनाअनुसार काम नगरेको भन्दै हटाउन माग गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाललाई भेट गरी नियामक निकायमा हुने नियुक्तिमा बिचौलियाको प्रभाव बढेको भन्दै पुँजी बजारको सुधारका लागि काम नगरेका अध्यक्ष र सीईओ हटाउन माग गरेका हुन् । 

धितोपत्र क्षेत्रमा भएका कमीकमजोरीका कारणले सुधार, विकास र विस्तार हुन नसकेकोले नेपाल सरकारले तत्कालीन र दीर्घकालीन सुधारका लागि गर्नुपर्ने कामको विवरण चार लगानीकर्ता संघका नेताले मन्त्री खनाललाई बुझाएका हुन् । 

यसरी यो क्षेत्रको सुधारका लागि आवश्यक कदम चालेर तत्काल राहत प्रदान गर्न तथा दीर्घकालमा विकसित पुँजीबजारको रूपमा स्थापित गर्न जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघले दबाब दिएका हुन् । 

नेपालको पुँजीबजारको मुख्य नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यपद्दतिमा आमूल सुधार गर्न आवश्यक भएकोले वरिष्ठलाई पन्छाएर कनिष्ठलाई सर्वेसर्वा बनाउने कार्य तत्काल रोकिनुपर्ने पनि माग छ । सक्षम व्यक्तिहरू नियुक्त गर्ने र सरकार मातहतका धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र सीडीएसमा आवधिक सरुवा गर्ने व्यवस्था गरी काममा चुस्त ल्याउने व्यवस्था गर्न पनि उनीहरूको माग छ ।

पुँजीबजारमा विगतदेखि लाग्दै आएका सीमा तत्कालै हटाउन पनि लगानीकर्ताको माग छ ।  

 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्