काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आर्नो कोस्वाले सोमबार (असोज ६) अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
त्यसक्रममा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कार्यक्रमको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए ।
छलफलका क्रममा अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु रहेको र परिवर्तित समयमा युवाको चाहनाबमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए ।
उनले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी तथा विभिन्न विकास आयोजनालगायत क्षेत्रमा एसियाली विकास बैंकले महत्त्वपूर्ण भूमिका खेलेको विषय उल्लेख गरे । उनले चालु आयोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी दिएका जनाइएको छ ।
उक्त बैठकमा अर्थसचिव घनश्याम उपाध्याय, मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा समेतको उपस्थिति थियो ।