काठमाडौं । नेपालका निम्ति अमेरिकी राजदूत डिन आर थम्पसनले एमसीसीको सहयोगमा सञ्चालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजना समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । सोमबार (असोज ६) अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा उनले सरकारका तर्फबाट यी परियाजना समयमै सक्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका हुन् ।
अर्थमन्त्री खनालले ती परियोजनाको सफल कार्यान्वयनका निम्ति सरकारका तर्फबाट गर्नुपर्ने कार्यमा ढिलाइ नहुने विश्वास दिलाए । उनले नेपालको सामाजिक, आर्थिक विकासमा अमेरिकी सरकारका तर्फबाट हुँदै आएको निरन्तर सहयोगको उच्च सराहना गरे । भविष्यमा समेत यसप्रकारको सहयोग प्राप्त भइरहने उनले आशा व्यक्त गरेका अर्थ मन्त्रालयले जनाएको छ ।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजका माध्यमबाट निजी क्षेत्रको मनोबल माथि उठाउनु रहेको बताए । राजदूतले हालैको घटनामा ज्यान गुमाएकाका परिवारप्रति समवेदना तथा सहानुभूति व्यक्त गर्दै वर्तमान परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गरे ।
बैठकमा अर्थसचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी राजदूतावासका पदाधिकारीको उपस्थति थियो ।