site stats
बाह्रखरी :: Baahrakhari
कला
दसैँतिहारमा सिनेमाको भीड, दर्शकलाई विकल्प

काठमाडौं । यो वर्ष दसैँलक्षित तीन नेपाली चलचित्र रिलिज गरिँदै छ । असोज १३ गते फूलपातीका दिन ती चलचित्र रिलिज गर्न लागिएको हो ।

‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ असोज १३ मा एकैदिन रिलिज गर्न लागिएका चलचित्र हुन् । यी चलचित्र दसैँको बिदामा हल गएर सिनेमा हेर्ने दर्शकलक्षित प्रदर्शनमा ल्याउन लागिएको हो ।

दसैँमा लामो सार्वजनिक बिदा हुने भएकाले दर्शक सिनेमा हेर्न जान्छन् भन्ने विश्वासमा यो मिति (फूलपाती)मा हरेक वर्ष आफ्नो चलचित्र रिलिज गर्न निर्माताबीच हानथाप हुने गरेको छ । 

यो वर्ष पनि त्यस्तै भयो । फूलपातीमा रिलिज हुने निश्चित भएका तीनवटा मात्र होइन, सुरुमा आधादर्जनभन्दा धेरै चलचित्र त्यस दिन ल्याउने घोषणा गरिएको थियो । तर, तीमध्ये केहीको निर्माण नै अनिश्चित बन्यो । केही भर्खर सुटिङमा जाने तयारीमा छन् । फूलपातीमा ल्याइने भनेर घोषणा गरिएका मध्ये एउटा चलचित्र रिलिज भइसकेको छ । ‘माग्ने राजा’ प्रदर्शन भइसकेको हो ।

केही छायांकनमै जान सकेनन् । केही छायांकनरत नै रहे र एउटा प्रदर्शन भइसकेकाले फूलपातीमा तीन चलचित्र रिलिज हुन लागेका हुन् । तीन चलचित्रको प्रदर्शन निश्चित भइसकेपछि पनि योबीचमा यही मितिमा अर्को नेपाली सिनेमा थपिने पक्कापक्कीजस्तै भइसकेको थियो । चलचित्र थियो, अभिमन्यु । 

‘अभिमन्यु’ सुरुमा भदौ २७ मा प्रदर्शन गर्ने तयारी थियो । तर, भदौ २३ र २४ गते ‘जेनजी’को प्रदर्शनका कारण हल बन्द भएपछि यो चलचित्र निर्धारित मितिमा दर्शकमाझ आउन सकेन ।

त्यसपछि यो चलचित्रका निर्माता विनोद पौडेलले असोज १३ वा कात्तिक १३ मा रिलिज गर्ने घोषणा गरेका थिए । तर, देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सोही दिन तीन ठूला नेपाली चलचित्र रिलिज हुने भन्दै फूलपातीका दिन आए शो दिन नसकिने जानकारी गरायो । निर्माता पौडेलका अनुसार, ‘कमिङ सुन’मा पनि राख्न नसकिने क्यूएफएक्सले जनाएको थियो ।

त्यसपछि निर्माता पौडेलले यो चलचित्रको प्रदर्शन मिति परिवर्तन गरे । यदि, उनी आफ्नो अडानबाट पछि नहटेको भए अथवा क्यूएफएक्सले न्यून संख्यामा मात्र शो दिएको भए यो चलचित्र फूलपातीमा रिलिज हुने थियो । ‘अभिमन्यु’ पनि थपिएको भए फूलपातीमा एकैदिन चार नेपाली चलचित्र रिलिज हुने थिए ।

नेपाली बक्सअफिसमा एकैदिन दुई चलचित्र प्रदर्शनमा आउनु सामान्य भइसकेको छ । चलचित्र निर्माणको संख्या नै धेरै भएकाले सोलो रिलिजको मौका हाल कमै मात्र मिल्छ ।

तर, दसैँतिहार, नयाँ वर्षजस्ता बिदाबाहेकमा एउटा बिग बजेटमा बनाइएको चलचित्र रिलिज भए अर्को कम लगानीमा निर्मित सिनेमा प्रदर्शनमा ल्याउने गरिन्छ । दसैँतिहार, नयाँ वर्षजस्ता बिदामा भने ठूला बजेटकै दुई/तीन चलचित्र एकसाथ प्रदर्शनमा आउने गरेका छन् ।

यसको उदाहरणका निम्ति यसै वर्षको फूलपातीमा रिलिज हुने चलचित्र हेरे पुग्छ । एक्सन जानराको चलचित्र ‘बलिदान’मा ठूलो लगानी छ । समीर भट्ट, सौगात मल्ल मुख्य भूमिकामा छन् । सन्तोष सेनले निर्देशन गरेका हुन् ।

‘हरिबहादुरको जुत्ता’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । हरिवंश आचार्य, स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।

‘माइतीघर’मा पनि मोटो पारिश्रमिकमा काम गर्ने कलाकार छन् । केदार घिमिरे, धीरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरीलगायत कलाकार छन् । मिलन तामाङले निर्देशन गरेका हुन् । ठूलो क्यानभास रहेकाले यो सिनेमाको बजेट पनि ठूलो छ ।

यो वर्ष मात्र होइन, हरेक साल दसैँतिहारमा चलचित्रको यस्तै भीड लाग्ने गरेको छ । दसैँतिहारमा बक्सअफिसमा ठूलो प्रतिस्पर्धा हुने गरेको छ । गत वर्ष ‘१२ गाउँ’, ‘छक्का पञ्जा’ र ‘ज्वाइँ साब’ प्रदर्शन भएका थिए ।

दुईभन्दा धेरै चलचित्र रिलिज हुँदा शोको बाँडफाँटमा समस्या हुने गरेको छ । दुईभन्दा धेरै चलचित्र रिलिज हुँदा सिनेमाको भागमा कम शो पर्छ । जति धेरै चलचित्र भए, त्यति नै शोको संख्या कम हुँदै जान्छ ।

“अहिलेको अवस्थामा एकैदिन दुईवटा चलचित्र प्रदर्शन हुुनु सामान्य हो । दुईवटा चलचित्रका लागि शो पनि पुग्छ,” चलचित्र निर्माता रोहित अधिकारी भन्छन्, “तर, तीनवटा चलचित्र आउँदा भने शो अपुग हुन्छ । त्यसैले हामी सकेसम्म दुईवटाभन्दा धेरै चलचित्र रिलिज नगरौँ भन्दै आएको छौँ । तर, रिलिज गर्नबाट कसैलाई कसैले रोक्न सकिँदैन ।” 

सुरुमा बाँडफाँटमा शो कम भए राम्रो चलचित्रलाई असर गर्ने रोहित बताउँछन् । प्रदर्शन भइसकेपछि जुन चलचित्र राम्रो छ, त्यही चल्ने उनको भनाइ छ ।

“रिलिज भइसकेपछि भने दर्शकले जुन चलचित्र मन पराउनुहुन्छ, त्यही चल्छ,” चलचित्र ‘माइतीघर’का निर्माता समेत रहेका रोहित भन्छन्, “वर्ड अफ माउथ जसको राम्रो हुन्छ, त्यही चल्छ ।”

सिनेमाघरहरूले पनि हलमा आउने ‘इन्क्वाइरी’, चलचित्रको ‘वर्ड अफ माउथ’, अग्रिम बुकिङ हेरेर शो बढाउने वा घटाउने निर्धारण गर्दै आएका छन् । जुन सिनेमाको वर्ड अफ माउथ राम्रो हुन्छ र अग्रिम बुकिङ उच्च हुन्छ, त्यसलाई शो थप्दै र बुकिङ कम आउने र दर्शकको प्रतिक्रिया राम्रो नआएकाको घटाउने गरिएको प्रदर्शकले बताउँदै आएका छन् ।

‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ यति बेला प्रचारमा छन् । तर, जेनजी आन्दोलनका कारण बदलिएको परिस्थितिले यी चलचित्रको खुलेर प्रचार हुन सकेको छैन । मिडिया अन्तर्वार्ता पनि त्यति धेरै भएको छैन ।

दसैँ मात्र होइन, तिहार पनि सिनेमा प्रदर्शनका हिसाबले उस्तै भएको छ । तीन सिनेमा आमनेसामने हुने भएका छन् । तिहारको बिदालक्षित तीन नेपाली चलचित्र प्रदर्शन गरिने भएको हो ।

तिहारको भाइटीका (कात्तिक ६) ‘वरिष्ठ बलराम’ र  ‘सोल्टिनी’ प्रदर्शन हुँदै छन् । ‘मैझारो’ एक दिनपछि कात्तिक ७ गते रिलिज गरिँदै छ । जेनजी आन्दोलनका कारण पूर्वनिर्धारित मितिमा आउन नसकेपछि ‘जारी–२’ पनि कात्तिक ६ मा रिलिज गर्ने निर्णय निर्माणपक्षले गरेको थियो । तर, प्रदर्शक र वितरकको आग्रहपछि यो चलचित्र पुनः रोकिएको छ । योसँगै तीन सिनेमा तिहारमा आउने निश्चित छ ।

‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । दयाहाङ राई, विजय बराल र समृद्धि अर्याल मुख्य भूमिकामा छन् ।

‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । प्रकाश सपूत र परीक्षा लिम्बू मुख्य भूमिकामा छन् ।

‘मैझारो’लाई विल्सनविक्रम राईले निर्देशन गरेका छन् । धीरज मगर, मिरुना मगर र दीया पुन मुख्य भूमिकामा छन् ।

दसैँतिहारमा चलचित्रको भीड लाग्दा दर्शकलाई भने छनोटको सुविधा रहनेछ । एक्सन, कमेडी, सोलस ड्रामा र लभ स्टोरी सिनेमा कुन हेर्ने दर्शकलाई विकल्प हुनेछ । 

“एकैदिन तीन/तीनवटा चलचित्र रिलिज हुँदा चर्को प्रतिस्पर्धा हुने भएको छ । सिनेमाहरूले शो कम पाउनेछन्,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “तर, यसको फाइदा पनि छ । दर्शकलाई कुन सिनेमा हेर्ने भन्ने विकल्प हुनेछ ।” 

दर्शकले आफूले चाहेको जानराको चलचित्र हेर्न पाउने उनी बताउँछन् । फरक जानराका चलचित्र प्रदर्शन हुँदा धेरै दर्शकले सिनेमा हेर्ने सम्भावना रहने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्