काठमाडौं । रसुवा र तातोपानी भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष ०८२/८२ को भदौ महिनामा मात्र दुई अर्ब ४५ करोड रुपैयाँको सामान भित्रिएको छ । असार २४ र साउन १४ गते गएको बाढीपहिरोका कारण बन्द स्थितिमा पुगेका यी भन्सारबाट व्यवसायीले भरियालाई बोकाएरै सामान नेपाल भित्र्याएका हुन् ।
बाढीपहिरोले सडक अवरूद्ध भएर सवारीसाधन आवतजावत बन्द थियो । तर, भत्किएको ठाउँबाट भरियालाई सामान बोकाएर ल्याइएको तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले बताए । “पारिबाट फलफूल बोकाएर पहिरो गएको ठाउँसम्म ल्याइयो सुरुमा, बाटै नबन्ने भएपछि जुन सामान बोक्न सहज हुन्छ, बोकाएर ल्याइयो,” चुडालले बाह्रखरीसित भने ।
तातोपानी भन्सारमार्फत भदौमा मात्र दुई अर्ब ४४ करोड रुपैयाँको सामान भित्रिएको छ । रसुवा भन्सारमार्फत भने एक करोड ५७ लाख रुपैयाँको सामान भित्रिएको छ । साउनमा भने यी दुई भन्सारबाट कुल तीन अर्ब २५ करोड ९७ लाख रुपैयाँको सामान भित्रिएको थियो । असार र साउनको बाढीपहिरोले ठूलो क्षति गरेका यी दुई भन्सारमा पूर्ण रूपमा काम भइरहेको छ । रसुवा भन्सारमा भने ठूलो क्षति भएकाले पहिले ल्याइएका सामान भरियामार्फत नेपालतर्फ भित्र्याइँदै छ ।
हाल तातोपानी भन्सारमा भने बाटो बनाउने काम भइरहेको छ । गाडी पास हुने गरी बाटो बनेको भए पनि ठाउँठाउँमा अवरोधले गर्दा कठिन भएको चुडाल बताउँछन् ।
पहिरोभन्दा तलतिर फसेका कन्टेनर तान्ने अगाडिको भाग (कन्टेनरको टाउको) चाइनापट्टी गएर मंगलबार (आज)देखि पहिरोबाट पास हुन थालेको उनले बताए । “पहिरो मर्मत गरेर हामीले कन्टेनर पास हुने स्थिति बनाएका छौँ । अहिले आइरहेका छन् ।”
हाल यो नाकाबाट चाडपर्वलक्षित सामान बढी आउने गरेको उनी बताउँछन् । आजदेखि व्यापारिक प्रयोजनका लागि आउने गाडीहरू पनि तातोपानी नाकाबाट भित्रिन थालेका छन् । “कन्टेनरबाट आजबाट सामान आउन थालेका छन्, गाडीलगायत चाडपर्वलक्षित सामान अहिले आयात भइरहेका छन्,” उनले भने, “व्यापारीले डकुमेन्ट पेस गरेपछि जाँचपास हुन्छन् । पारि रोकिएका सामान भन्सारसम्म आउन थालेको छ ।”
तातोपानी भन्सार रहेको स्थानदेखि नेपालतर्फको बाटोमा गाडी रोकिने अवस्था नरहेको चुडाल बताउँछन् । साना ठूला सबै प्रकारका गाडी चल्ने अवस्था रहेको उनले बताए ।
दुई महिनामा कुन भन्सारबाट कति रुपैयाँको सामान नेपाल भित्रियो ?
चालु आर्थिक वर्ष ०८२/८३ को दुई महिना (साउन र भदौ)मा २८ भन्सारमार्फत तीन खर्ब पाँच अर्ब १५ करोड रुपैयाँको सामान भित्रिएको छ । जसमा साढे एक खर्ब रुपयाँको आयात वीरगञ्ज भन्सारबाट भित्रिएको भन्सार विभागले जनाएको छ । यो भन्सारबाट एक खर्ब ४६ अर्ब रुपैयाँको सामान नेपाल भित्रिएको छ ।
भैरहवा भन्सार कार्यालयबाट ४८ अर्ब २२ करोड रुपैयाँको सामान भित्रिएको छ । त्यसैगरी विराटनगर भन्सारबाट ४१ अर्ब ४९ करोड, त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ३१ अर्ब ६३ करोड, नेपालगञ्ज भन्सार कार्यालयबाट ११ अर्ब २१ करोड, मेची भन्सारबाट आठ अर्ब १९ करोड रुपैयाँको सामान नेपाल भित्रिएको विभागको तथ्यांक छ ।
यसका साथै कृष्णनगर भन्सारबाट तीन अर्ब ९९ करोड, कैलाली भन्सारबाट तीन अर्ब ३८ करोड, सुठौली भन्सारबाट एक अर्ब ३१ करोड र जलेश्वर भन्सारबाट एक अर्ब २० करोड रुपैयाँको सामान भित्रिएको छ ।
बाँकी भन्सारबाट एक अर्बभन्दा कमको सामान नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । भदौ ३० गतेबाट व्यापारिक रूपमा सञ्चालनमा आएको कोरला नाकामा पर्ने मुस्ताङ भन्सारबाट दुई दिनमा १२ करोड रुपैयाँको सामान भित्रिएको छ । खासगरी यो भन्सारबाट इलेक्टिक भेहिकल (ईभी) भित्रिएका छन् । केही मात्रामा अन्य सामान पनि आउने क्रम जारी रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्का बताउँछन् ।
