site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हवाई भाडा घटाउने तयारीमा एयरलाइन्स, धनगढीको १२ हजारमा झर्ने !

काठमाडौं । सरकारले दसैँ, तिहारलगायत चाडपर्वमा हवाई टिकटको मूल्य नबढाउन सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको जानकारी दिए ।

शुक्रबार न्युज एजेन्सी नेपालसँग उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरेर यात्रुलाई राहत दिन आग्रह गरिएको बताए ।

उनका अनुसार, हवाई टिकटको न्यूनतमदेखि अधिकतमसम्मको मूल्य कानुनमा नै व्यवस्था गरिएको छ । त्यसमा अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सेवा प्रदायक संस्थालाई भनिएको प्राधिकरणको भनाइ छ ।

"देशमा पनि अहिले यस्तो अवस्था भएको हुनाले वायुसेवा कम्पनीका साथीहरूलाई बोलाएर कम्तीमा म्याक्सिमम फेयर नबेच्नुहोला, त्योभन्दा १/२ क्लास लोअर फेयरमा बेचिदिनुहोस् भनेर भनेका छौँ । त्यहीअनुसार वायु सेवा कम्पनीहरूले काम गरिरहेका छन् । उदाहरणका लागि अहिले बुद्ध एयरले धनगढीमा १२ हजारभन्दा माथिको टिकट नबेच्ने भनेर उहाँहरूले आन्तरिकरूपमा नै तयारी गर्नुभएको छ," उनले भने ।

प्राधिकरणले चाडपर्वमा हवाई यात्रुको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था गरेको पनि जनाएको छ । नेपालमा दैनिक १० हजार यात्रुले आन्तरिक उडान गर्ने गरेको तथ्यांक छ ।

प्राधिकरणका सूचना अधिकारी भुलले दसैँ तिहारजस्तो समयमा दैनिक १८ हजारसम्म यात्रु हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको जानकारी दिए ।

– न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्