site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'एकीकृत कार्यालय व्यवस्थापन प्रणाली' अर्थ मन्त्रालयमा पनि अनिवार्य

काठमाडौं । एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस)को प्रयोगलाई अर्थ मन्त्रालयले समेत अनिवार्य गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले विकास गरेको एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयले अनिवार्य गरेको हो ।

शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीबाट फाइल स्वीकृत गरी जीआईओएमएस प्रणालीको शुभारम्भ गरे ।

सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारीरूपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्यरूपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने गरी व्यवस्था गरिएको छ ।

यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शीघ्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता, जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा मन्त्रालयको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्