site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटन क्षेत्रको मनोबल घटायो : बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘जेनजी’ आन्दोलनले देशमा पर्यटन क्षेत्रको मनोबल घटाएको जनाएको छ । बोर्डले आन्दोलनमा गरिएको तोडफोड, आगजनी र लुटपाटको घटनाले पर्यटन क्षेत्रको मनोबल घटाएको जानकारी गराएको हो ।

विश्व पर्यटन दिवसको अवसर पारेर शनिबार (असोज ११) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्दोलनका कारण तुलनात्मक रूपमा पर्यटकको आगमनमा ४५ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक गरे ।

उनले गत वर्ष असोजको पहिलो सात पर्यटकको संख्या ३३/३४ सय भएको जानकारी दिए । यो वर्ष जेनजी आन्दोलनका कारण त्यो संख्या घटेर १६ सयमा झरेको उनले उल्लेख गरे । अब थप अरू दुर्घटना नभए त्यसमा सुधार आउने बोर्डको आकलन छ ।

“यो भदौ २३ र २४ गते जुन आन्दोलन भयो, अलिकति आगजनीका घटनाहरूका कारण पर्यटक आगमनको संख्यामा कमी भयो,” उनले भने, “त्यसले ठ्याक्कै सिजन सुरु हुँदै गर्दा हामीलाई अलिकति मनोबल खस्काएको अवस्था छ ।”

बोर्डले नेपालमा पर्यटन भित्र्याउन सही सूचना दिने प्रणालीलाई प्रभावकारी बनाइएको पनि जिकिर गरेको छ ।

जोशीले सूचना प्रणालीको राम्रो व्यवस्थापन गरेर पर्यटकलाई दिगो रूपमा नेपाल भित्र्याउने कार्यलाई सघन ढंगले अघि बढाइएको बताए । त्यसनिम्ति सरकारी र निजी क्षेत्र दुवैले संयुक्त रूपमा पहल गर्नुपर्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्