site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
के काठमाडौं फेरि उस्तै रहला ?

मेरी ज्यान, खुबै माया गर्छौ नि तिमी काठमाडौंलाई ! बहुत प्रेम गर्छु म पनि काठमाडौंलाई ।

म आज पृथ्वीको कुनै पूर्वी मुलुकमा छु र तिमी छौ भूगोलको कुनै एक अर्कै विन्दुमा । यद्यपि, हामी काठमाडौंलाई ज्यादै ‘मिस’ गरिरहेका हुन्छौँ । हेर न, कस्तो दुःखद समयको साक्षी हुनुपर्‍यो हामीले ।

काठमाडौंका सडक कलिला विद्यार्थीहरूको रगतले लत्पतिए । कुनै अंग्रेजी सिरिजको भयानक दृश्यझैँ सहर दनदनी सल्कियो र चराहरूको सम्पूर्ण आकाश धमिलियो, मानौँ कुनै आक्रोशित ड्रागनले काठमाडौंलाई रातारात माथिबाट आगो ओकलिदियो ।

जब हामी फेरि यो सहरमा भेट्नेछौँ, के रिङरोडको कुनै क्याफेमा पहिलेजस्तै फेरि शान्तिले कफी पिउन सकौँला ? के सहरको त्यो पुरानो प्रेमिल बास्ना फेरि लिन सकौँला ? के साँझपख तिम्रो घरको छतमा लुगा सुकाउने डोरीमा हात अड्याएर ‘काठमाडौं इज द बेस्ट सिटी इन द वर्ल्ड !’ भन्दै चिच्याउन सकौँला ?

मेरी ज्यान, के काठमाडौं फेरि उस्तै काठमाडौं रहला ?

सम्झन्छु, हामी कलेजका दिनहरूमा ‘ऐ दिल है मुश्किल जीना यहाँ, जरा हट के जरा बच के ये है बम्बे मेरी जान’ गुनगुनाउँदै गुनासो पोख्थ्यौँ । भन्थ्यौँ, ‘खै, काठमाडौंको बारेमा यस्तो दामी गीत लेखिएको ? न्युयोर्क, लन्डन या क्यालिफोर्नियाजस्तै काठमाडौंका बारेमा खै त राम्राराम्रा गीतहरू गाइएको ?’

हामी जोसले टम्म भरिन्थ्यौँ । हामीले केही गीत लेख्ने प्रयास पनि गरेका थियौँ, तर ती फगत प्रयासै मात्र हुन पुगे । आज सोचेर डर लाग्छ मेरी ज्यान, अब फेरि हामीले काठमाडौंको गीत लेख्यौँ भने त्यसमा यी कलिला पुस्ताका रगत मिसिन पो आइपुग्छ कि !

२०६२/६३ को आन्दोलनमा हामी पनि १६ वर्षे हाइस्कुले विद्यार्थी थियौँ, जोस र उमंगले भरिएका । एकदमै स्वप्निल । उस बेला हामी पनि काठमाडौंका सडकहरूमा निस्कियौँ र आन्दोलनमा मिसियौँ ।

सम्झ त मेरी ज्यान, ठ्याक्कै त्यो बेलाको हामीजस्तै उमेरका विद्यार्थीहरूले आज प्राणको बलिदान दिनुपर्‍यो । भ्रष्ट र निरंकुश सरकारको विरोधमा फ्रन्टलाइनमा उभिएर गोली खानुपर्‍यो । कसको मन कटक्कै खाँदैन होला र !

त्यो भदौ २३ गतेको कालो दिन म जेनजीहरूको प्रदर्शनलाई लिएर बिहानैदेखि उत्साहित थिएँ । परदेशको भूमिमा काम गर्दै थिएँ, तर मनमस्तिष्क भने जम्मै उतै थियो ।

कामको बीचबीचमा मोबाइल स्क्रोल गर्दै रहेँ । सुरुआतमा प्रदर्शन निकै शान्त र सामान्य किसिमको देखियो । नाराहरू पनि उही पुरानै शैलीका देखिए । मैले मनमनै संयमित प्रदर्शनको लागि जेनजी समूहलाई धन्यवाद दिएँ र फेरि काममा लागेँ ।

काममा लाग्नुअघि फेसबुक स्ट्याटसमा थोरै ठट्टा पोखेँ, ‘जेनजीको प्रदर्शनमा मैले केही दृश्यहरूको आशा राखेको थिएँ । तर, ती सिनहरू पाइनँ । जस्तो कि दामीदामी र्‍याप म्युजिकको सडक प्रस्तुति, सुपर हिरो वा एनिमे क्यारेक्टरको कस्ट्युममा कस्प्ले केटाकेटीहरू अनि केही थान क्युट नवप्रेमील लजालु जोडी भाइबहिनीहरू । कतै देखिएको छ भने मलाई कमेन्ट्याउनु ल !’

कफी ब्रेक भयो । एक हातमा कफी र अर्को हातमा मोबाइल लिएर स्क्रोल गर्न थालेँ । पूरै देश शोकमा डुबिसकेको थियो । हातबाट कफी भुइँमा खस्यो र छ्यालब्याल भयो ।

कफीले जमिनमा कोरिएको आकृति मलाई कुनै रक्तचित्रजस्तो नजर आयो । मन एक तमासले हुँडलियो । आँखा रसाए । सामाजिक सञ्जालभरि मृतकहरूको रगत देखेर सारा परदेशीहरूको आँखाबाट आँसुको भेल बगिरहेको थियो । रगत उम्लिरहेको थियो ।

मैले स्थिति बल्ल बुझेँ । रातिसम्ममा मलाई जुनै जुत्ता हेरे पनि उही रगत लत्पतिएको सडकमा छुटेको एक्ले जुत्ताको झझल्को आउने भइसकेको थियो । कतै रातो रङ देख्यो कि सहिदहरूको लासको झझल्को आउन थालेको थियो ।

‘दुखाइस् सरकार, खुबै दुखाइस् !’ मैले आफैँसँग भनेँ । रातिको खाना खान सकिनँ । निदाउन सकिनँ । ज्यादै उकुसमुकुस भएपछि मलाई अत्यन्तै मन पर्ने एकजना कविसँग मैले दुईलाइने संवाद गरेँ ।

‘आज सारै दिल दुखेको छ हौ,’ मैले लेखेँ । उनले ‘म त भर्खर एक लट रोएर बसेको नि’ भनेर लेखिन् ।

तर, मन शान्त भएन । दुःख, जलन, आक्रोश अनेकथरीको जाँतोमा मन रातभर  पिसिइरह्यो ।

भोलिपल्ट भदौ २४ गते त झन् आगो लिएर आयो र त्यो आगोले काठमाडौंलाई विरूप हुने गरी जलायो । बैजनी ज्याकारान्डा फूलहरूले झरिझुत्तै सुहाउने काठमाडौंलाई खरानीले पटक्कै सुहाएन र विरक्तलाग्दो सहर बनायो ।

ती कस्ता हातहरू थिए जो त्यति ठूला मानव परिश्रमले निर्मित ती संरचनाहरूमा आगो झोस्दा रत्तिभर पनि काँपेनन् ? ती कस्ता सोचहरू थिए जसले पिट्न, जलाउन र मार्नलाई जित ठाने ?

तिमीलाई थाहा छ मेरी ज्यान, जब घर तथा भवनहरू दनदनी जलिरहेका थिए, जब कुटपिट र हिंसाका हेर्नै नसकिने अमानवीय क्रूर कार्यहरू चलिरहेका थिए, तब थुप्रै लेखक/कलाकारहरूले समेत त्यस्ता भिडियो सामग्रीहरू नानाथरी क्याप्सन राखेर सामाजिक सञ्जालमा रमाइरमाइ  सेयर गरिरहेका थिए ।

देखेर म स्तब्ध भएँ । सोचेँ, के उनीहरूको प्रोत्साहनले अरू केही ज्यान मर्‍यो भने अथवा अरू थप ठाउँ जल्यो भने उनीहरू खुुसी हुने हुन् ? उनीहरूभित्रको कला संवेदना त्यही थियो ? उनीहरूले बिर्सिए मेरी ज्यान, कि आँखाको बदलामा आँखै लिने हो भने दुनियाँ अन्धाहरूको हुनेछ ।

त्यस रात पनि प्रत्येक परदेशीको भोक, प्यास, निद, अमनचैन सबै गायब भयो । स्क्रिनमा आफ्नो देशका हृदयविदारक दृश्यहरू हेर्दै छट्पटिनुसिवाय मैले गर्न सक्ने केही पनि थिएन ।

बहिनीलाई फोन गरेँ । ऊ साथीहरूसँग ट्रमा सेन्टरमा रहिछ । उसको साथीलाई तिघ्रामा गोली लागेको र उपचार हुन बाँकी थियो । उसका साथीभन्दा अरू घाइतेहरूको अवस्था खराब थियो, त्यसैले पालो आएको रहेनछ ।

बहिनीले लगभग रोएको आवाजमा भनी, ‘दाइ, वी डिड नट वान्ट दिस । दे बर्न्ड डाउन द होटेल हिलटन ।’

मैले उसलाई केही बेर सम्झाएँ र तुरुन्त साथीहरू लिएर घर फर्कन भनेँ ।  त्यसपछि फेसबुकमार्फत एउटा अनुरोध गरेँ, ‘परदेशीहरू हो, अब घरका भाइबहिनीहरूलाई फोन लगाउनुहोस् र घर फर्कन भन्नुहोस् । मैले त फोन गरिसकेँ । अब यो थामिनुपर्ने बेला भयो ।’

तेस्रो दिन त्यो पागलपन थामियो, तर घाउहरू जताततै बनिसकेका थिए । अब ती घाउहरू कसरी जाती होलान्, जवाफ समयको गर्भमा छ । हामी उठ्न त पक्कै उठ्नेछौँ मेरी ज्यान, यति विश्वास छ ।

७४ जनाभन्दा बेसीले गुमाएका प्राणको बदलामा हाम्रो देशले सुन्दर बिहानी त पक्कै पनि ल्याउनैपर्नेछ । अब शान्ति र समृद्धिबाहेक हिँड्न सकिने कुनै बाटो नै बाँकी छैन ।

मेरी ज्यान, ओलाङचुङगोलाको कुनै लिम्बू वा तामाङले यही काठमाडौं खाल्डोमा दैलेखकी कुनै विष्ट कन्यालाई भेट्छ र गहिरो प्रेममा पर्छ । झापाको कुनै थापा र अर्कै कुनाकी कोही छोरी यही खाल्डोमा भेटेर जीवनसाथी बन्छन् ।

यो उपत्यका प्रेमको लागि अत्यन्तै उर्वर भूमि हो । मानिसहरू यसको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको चर्चा गर्छन् । म कायल हुँ यसभित्रका प्रेमकथाहरूको । म आफैँ एक प्रेमी हुँ यो काठमाडौंको ।

अब फेरि समयसँगै ज्याकारान्डाहरू फुल्नेछन् । फेरि चारैतिर कम्मरमा हात राखेर उभिएका हरिया डाँडाहरूबाट बतास लडीबुडी गर्दै सहर झर्नेछ । फेरि बल्नेछन् माथिमाथि गाउँका गुम्बामा साँझ बत्तीहरू ।

फेरि नाच्नेछ ठमेल । फेरि झिल्झिलाउनेछ रिङरोड । फेरि चलमलाउनेछ रत्नपार्क । तर, किनकिन मनभित्र एउटा नजानिँदो चिसो शंका उब्जिएको छ मेरी ज्यान, के काठमाडौं फेरि उस्तै रहला त ?

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्