दसैँमा धानका बाला झुलेको, घमाइलो, यत्रतत्र फूल फुलिरहेका हुन्थे । वल्लो घर, पल्लो घर, बाख्रा, खसी, भेडा, च्यांग्रा कराएको, बालबालिका स्कुल बिदा भएर घर आँगनबारीमा कुदेका, पिङ खेल्न चौतारी, चौर स्कुलतिर दौडेका, लागेका हुन्थे ।
चोक, गल्ली, सार्वजनिक स्थलमा भेला हुने, खसी जोख्ने, मासु परेको, खुट्टा, टाउको, रौँ र लादी कटाएर यति धार्नी बस्छ, सस्तो पर्यो, महँगो पर्यो, मार हान्न बलिया छिमेकी बोलाउने, ह्याकुला, गर्धन दिने, रक्तुवा, भित्र्यांस बनाएर खाने, मासु कति ल्याइस् ? के ल्याइस् ? एकापसमा सोध्ने भन्ने चलन थियो । गाउँमा तुलो हुन्थ्यो सेर, पाउ, बिसौली, धार्नी, हुन्थ्यो । खसी घरकै खाने भए पनि यति धार्नी भयो भनिन्थ्यो । घरमा नभए गाउँबाट खोजेर तुलो ल्याइन्थ्यो ।
गाउँमा हार्दिकता हुन्थ्यो । बाँडेर खाने, मिलेर बस्ने गरिन्थ्यो । समाजमा प्रेम सद्भाव थियो । कसको घरमा कस्तो खसी, पाठो, कति मासु सबै गाउँलेलाई थाहा हुन्थ्यो । फ्रिज थिएन, मासु त्यत्तिकै राखिन्थ्यो । कुनैकुनै बेला गन्ध पनि आउँथ्यो ।
घरैपिच्छे, अम्बा, केरा, काँक्रो र सुन्तला हुन्थे । घरमै पाकेको फलफूलले निर्वाह चल्थ्यो । किनेर ल्याउन पर्दैनथ्यो । अहिलेको चल्तीको 'अर्गानिक' हुन्थ्यो, दसैँ । पुस्ता फेरियो, रिवाज फेरियो । त्यो बेला दसैँमा पैसा, लुगाफाटा र मरमसला र दक्षिणामा मात्र पैसा खर्च हुन्थ्यो । काँक्रोको खल्पी (अचार) खाइन्थ्यो ।
आजकलको दसैँमा त घरभरि मान्छे, ढोका लगाएर खाना खाने, पकाउने, रेसिपी बनाउने, फिल्म हेर्ने, दुबई, थाइल्यान्ड, मलेसिया, बाली, सिंगापुर घुम्न जाने, बार्बिक्यू गर्ने, वाइन खाने, तास खेल्ने, किताब पढ्ने चलन छ ।
पहिला त दसैँमा परदेशीहरू घर आउँथे, अब त परदेशीलाई भेट्न बाआमा दसैँ नै उतै मनाउने भनेर जान थालेका छन् । दसैँ मासु, तास, बिदा, परिवारमा बस्ने, नयाँनयाँ खाना सिक्ने, बनाउने, रमाइलो गर्ने बेला पो भयो ।
उता मोबाइल, यता मोबाइल, युट्युब, फेसबुक, इन्स्टा, इमोजी, लाइक, फलो चलेको छ । आमा, दिदीबहिनी उता पकाउने, यता बिस्तरामा बस्ने, खाने छन् । मिलेर काम गर्ने, सघाउने, सहायता गर्ने कोही छैन । यसैले 'अल्छी तिघ्रो स्वादे जिभ्रो' उखान पटकपटक सुनिन्छ ।
न देवी देवताको पूजा, न मन्दिर, न टीका, न जमरा सुर्ता छ भने खान र डुल्नको मात्र । अरू कुरा मतलबै छैन । पुस्तक पसलतिर सानासाना नानी भेटिन्छन् । जो बाआमाले भनेको मान्ने उमेरका ५ देखि १२ सम्मका पुस्तक छान्दै गरेका भेटिन्छन् । किताब खोज्ने, पढ्ने त यदाकदा भेटिने हुन्, दसैँ मूलतः बिदा हो, बिन्दास खाने, रमाउने, मोबाइल चलाउने, युट्युब हेर्ने, फिल्म हेर्ने भएको छ ।
हाँसीखुसी पनि उति देखिन्नन् कोही । सबै 'भर्चुअल'मा चलेको छ । त्यो बेला त पँधेरा, कुवा, धारामा खसी पाठाको लादी धुने हुलमा पनि बातचीत हुन्थ्यो । भुरालाई त्यो काम लगाइन्थ्यो । मासु टुक्र्याउनेको पाता नै दुख्थ्यो । यस्तो दिन थियो ।
अहिले न त घर सरसफाइ, न लिपपोत, न त रातोमाटो, कमेरो । सबै हराए । अब त नानाथरी केमिकल पेन्ट लगाइन्छ । त्यही पनि लाखौँ लाग्ने । अब त बिहेमा बाहेक अरू बेला सामान्य परिवारले घरमा रंग लगाउन पनि नसक्ने अवस्था छ ।
गाउँमा घरमात्र होइन गल्ली, मूलबाटोसमेत सफा गरिन्थ्यो । गाउँटोलमा सद्भाव, मित्रता तथा सरसहयोग हुन्थ्यो । सबै हरायो । समयको देन या आधुनिकताको प्रवेश या महँगाइँको प्रभाव या डिजिटल दुनियाँको रापताप के हो ठम्याउन गाह्रो छ । हामी सकियौँ, हाम्रो संस्कृति सकियो ।
कथाजस्तो पो भयो हामीले भोगेको र देखेको दिन, काल र समय ।
रेडियोमा टीकाको साइत सुनिन्थ्यो । राजाको र जनताको टीका लगाउने साइत । कटुवालले बिहानै आज टीकाको साइत यति बेला भनेर घोक हाल्थे ।
अहिले त नेपाली नै नजान्नेले केको संस्कृतको मन्त्र जान्नु ? मन्त्रोच्चारण, चण्डी, दुर्गा कवच पढ्नु ? दुर्गा स्थापना गर्नु, कताको जमरा राख्नु, संस्कार, परम्परा र रीतिरिवाज हराउँदै छ । दसैँ त लामो बिदामा केन्द्रित हुँदै छ । पहिलेको हार्दिकता पनि छैन, उमंग पनि छैन । यसरी दसैँ तिहार पर्व चलेको छ ।
गाउँमा वर्षौं भेट नभएको साथी भेट हुन्थे । दसैँ मनाउन गाउँ आएका हुन्थे । भलाकुसारी हुन पाउँथ्यो । अहिले कोही कसैसँग भेट हुँदैन । खासमा गाउँ बस्ने मान्छे छैनन्, सबै लाखापाखा ।
अहिले त बजारमा दसैँ, सबै पराई । टीका घर, ससुराली र मावलीमा सीमित भएको छ । छरछिमेक भन्ने त शब्दै हरायो । आत्मीयता छैन, यसो भेट्दा भात चिया सोध्ने औपचारिकतामात्र छ ।
कहाँ पिङका लागि बाबियो खोज्ने, पैसा उठाएर, लठ्ठो बाट्ने चलन, कताको चौडाले पिङ, सबै समय आधुनिकता सँगै हराए ।
वर्षभरि कुरेर आएको पर्व अहिलेको समाजका लागि वरदान हुनुपर्नेमा घर बस्ने, पढ्न, काम गर्न नपर्ने, आराम, स्कुल कलेज जान परेन बस !
रेडियोमा गीत सुनिन्थ्यो 'बिछोडका पीडा नसकी खप्न दसैँको बेलामा...' अहिले पनि सर्जकले गीत त बनाएका छन्, तर पुरानाजस्ता मार्मिक कमै छन् । समय बदलिएर होला पनि, पहिलाजस्तो पीडा पनि त छैन अहिले ।
चाडबाड त समाजलाई जीवन्त राख्ने, मानिसमा सद्भाव बढाउने, दुःखसुख बाँड्ने माध्यम पो बन्नुपर्ने !