काठमाडौं । जेनजी प्रदर्शनपछि नेपाल आउन डराएका विदेशी पर्यटकलाई नेपाल ल्याउने पहल परराष्ट्र मन्त्रालयले थालेको छ । भदौ २३ र २४ गतेको प्रदर्शनपछि पर्यटकले धमाधम होटल बुकिङ रद्द गर्न थालेपछि परराष्ट्रले उनीहरूलाई नेपाल ल्याउने प्रयास सुरु गरेको हो ।
“पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । हामीले पर्यटन व्यवसायीसँग कुरा गर्दा अघिल्लो वर्ष यतिबेला (अक्टोबर) नेपालका ८० प्रतिशत होटेल बुकिङ हुने गरेको अहिले यो ३० प्रतिशतमा झरेको बताएका छन् । यसैले हामीले पर्यटक फर्काउन पहल सुरु गरेका हौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाह्रखरीसँग भने ।
परराष्ट्रले विदेशमा रहेका ४१ वटा नेपाली नियोगलाई पत्र पठाई ‘जेनजी प्रदर्शनपछि हाल नेपाल सामान्य बनिसकेको र नेपाल खुलेको सन्देश दिन’ भनेको छ । सोहीअनुसार, नेपाली दूतावासहरूले ती देशमा नेपाल शान्त बनेको र घुम्न जाँदा कुनै अप्ठेरो नहुने सन्देश प्रवाह गरिरहेका छन् ।
“जतिसक्दो छिटो हामीले पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनुपर्छ । यही उद्देश्यअनुसार हामीले काम गरिरहेका छौँ,” प्रवक्ता क्षेत्रीले भने ।
नेपालमा सबैभन्दा बढी पर्यटक आउने महिनामध्ये एक हो, अक्टोबर । अध्यागमन विभागको तथ्यांकअनुसार गत वर्ष अर्थात् सन् २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९३ जना पर्यटक नेपाल आएका थिए । यस वर्षको होटेल बुकिङ हेर्दा यो संख्या निकै घट्ने देखिएको छ ।
होटेल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह हाल होटल बुकिङ २० देखि ३० प्रतिशत रहेको बताउँछन् । “अघिल्लो वर्ष यतिबेला होटेल फुल बुकिङ हुन्थ्यो, अहिले २० देखि ३० प्रतिशतमा झरेको छ । तर, केही दिनयता बढ्ने क्रममा रहेको छ,” अध्यक्ष शाहले भने ।
नेपाल पर्यटन बोर्डले शनिबार जारी गरेको तथ्यांकअनुसार, देशभर करिब २० हजार पर्यटक छन् । पछिल्लो समय नेपालमा पर्यटकलाई कुनै समस्या नरहेको र सरकारले ‘नेपाल नाऊ’ वेबसाइटबाट समेत नेपालको बारेमा अपडेट गराइरहेका कारण पर्यटकको संख्या बढ्न थालेको शाह बताउँछन् ।