काठमाडौं । नेपालले अहिले औसतमा दैनिक एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । देशभित्रको माग पूरा गरेपछि बाँकी रहेको अतिरिक्त विद्युत् भारत र बंगलादेशमा बिक्री भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ ।
भारतको ऊर्जा बजार भारतीय ऊर्जा विनिमय (आईईएक्स)को डे–अहेड र रियल टाइम मार्केटमार्फत प्रतिस्पर्धी दरमा विद्युत् बिक्री भइरहेको छ । हरियाणा र बिहार राज्यमा द्विपक्षीय मध्यकालीन सम्झौतामार्फत पनि विद्युत् आपूर्ति भइरहेको छ ।
भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने भएकाले नेपालले दुवै मुद्रा आम्दानी गरिरहेको छ ।
हाल प्राधिकरणलाई भारत र बंगलादेश गरी एक हजार १६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भएको छ । नेपालले २०७८ कात्तिक १६ गतेदेखि औपचारिक रूपमा भारतमा विद्युत् निर्यातको अनुमति पाएको थियो ।
नेपालको जलविद्युत् उत्पादन क्षमतामा निरन्तर वृद्धि भइरहेकाले आगामी वर्षहरूमा विद्युत् निर्यातको परिमाण अझ बढ्ने प्राधिकरणले बताएको छ ।