site stats
बाह्रखरी :: Baahrakhari
कला
सिनेमाको छायांकन स्टुडियोका लागि तीन करोड सरकारी अनुदान सम्झौता

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको पूर्वाधार विकासतर्फ एक महत्वपूर्ण कदमका रूपमा बनेपामा निर्माण हुँदै गरेको सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि सरकारले तीन करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ ।

शुक्रबार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ । 

‘सिनेपाः’ स्टुडियो नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, चलचित्र निर्माताहरुलाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजना रहेको बोर्डले जनाएको छ । 

यसमा चलचित्र छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स (भीएफएक्स), कलर ग्रेडिङ र पोस्ट–प्रोडक्सन सुविधाहरू रहनेछन् । 

“काभ्रेको बनेपामा निर्माण भइरहेको ‘सिनेपाः’ स्टुडियो नेपाली चलचित्र उद्योगका लागि नयाँ युगको सुरुवात हुनेछ,” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भने, “यो केवल स्टुडियो होइन, हाम्रो सिनेमा क्षेत्रको भविष्यमा लगानी हो ।”

‘सिनेपाः’ को निर्माण सम्पन्न भएपछि नेपाली चलचित्रकर्मीहरूलाई विदेशमा गएर महँगो पोस्ट–प्रोडक्सन गर्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ । यसले फिल्म पर्यटन, रोजगारी र सीप विकासमा पनि उल्लेखनीय योगदान पुर्‍याउने उनको विश्वास छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्