काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले यस वर्ष सुनका असर्फी (सिक्का) बिक्री नगर्ने भएको छ । सधैँ दीपावलीमा सुन र चाँदीका सिक्का बिक्री गर्दै आएकामा यस वर्ष महाशाखाले चाँदीका सिक्कामात्र बिक्री गरिरहेको छ ।
पहिलेका सिक्का सकिएको र यस वर्ष सुनका असर्फी उत्पादन नगरेकाले बिक्री नगरिएको टक्सार महाशाखाकी कार्यवाहक निर्देशक प्रतिभा अधिकारीले बताइन् ।
“यस वर्ष हामीले सुनका असर्फी उत्पादन गरेनौँ । त्यो भएर यसपालि चाँदीका सिक्कामात्र बिक्री गरिरहेका छौँ,” अधिकारीले भनिन् ।
दिनदिनै सुनको भाउ बढ्दै गएपछि सुनका असर्फी किन्ने पनि कम देखिएका छन् । टक्सारमा असर्फी किन्न आउनेहरूले पनि सुनका असर्फीबारे त्यति चासो नदिएको अधिकारी बताउँछिन् ।
“एक–दुई जनाले सुनका असर्फी छैनन् भनेर सोध्नुहुन्छ । तर, हामीले यो वर्ष दिएको छैन भनेपछि उहाँहरूले त्यत्ति चासो दिनुभएको पाइँदैन,” उनले भनिन् ।
राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपाने पनि सर्वसाधारणले धनतेरस पर्वमा सुन वा चाँदीको सिक्का पूजा गर्ने भएकाले चाँदीकै सिक्काले काम चलाउने बताउँछन् । राष्ट्र बैंकले सुन चाँदीको कारोबार नगर्ने भन्दै सर्वसाधारणलाई सहज बनाउनका लागि असर्फी बिक्री गर्दै आएको न्यौपाने बताउँछन् ।
“नेपाली परम्पराअनुसार धनतेरस पूजा गरिन्छ । यसमा सुन वा चाँदीका असर्फी पूजा गर्ने हो । हामीले यो वर्ष सुनका सिक्का उत्पादन गर्न सकेनौँ । भएका चाँदीका सिक्का बिक्री गरेका छौँ,” न्यौपानेले भने ।
यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु हुन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धन्वन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।
महाशाखाले चाँदीका सिक्का खरिद गर्नेलाई नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । भिड व्यवस्थापन गर्न र तथ्यांक राख्नलाई परिचयपत्रको व्यवस्था गरिएको अधिकारी बताउँछिन् ।
महाशाखाले १० ग्रामका चाँदीका लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियन प्रतिव्यक्ति एक थान बिक्री गरिरहेको छ ।
शाखाले आवश्यकताअनुसार तिहार अगाडि पनि यस्ता असर्फी बिक्री गर्दै आएको थियो । तर, तिहारलाई लक्षित गरी सर्वसाधारणको भिड बढ्ने गरेको पाइन्छ ।