site stats
बाह्रखरी :: Baahrakhari
कला
समृद्धिको समृद्ध आत्मविश्वास, मुम्बईदेखि काठमाडौंसम्म

काठमाडौं । कक्षा–३ मा पढ्दा स्कुलमा अडिसनका निम्ति एउटा टिम आयो । रोजबर्ड स्कुल थियो । विद्यार्थीको ठूलो संख्या । समृद्धि अर्यालले पनि अडिसन दिइन् । 

खोइ किन हो, समृद्धि सेलेक्ट भइनन् । सायद उनीभन्दा अब्बल अरू निस्किए । उनले अवसर पाइनन् । त्यो समयलाई यात्रा त्यहीँ टुंगियो ।

कुन सिनेका लागि अडिसन थियो ? 
“सिनेमा होइन, विज्ञापनको अडिसन थियो ।” 

० ० ०

१६ वर्षसम्म उनको रहर मनमै सीमित रह्यो । पढाइमै केन्द्रित रहिन् । त्यसपछिको एक वर्ष उनले मोडलिङ गरिन् । बुवाले थाहा पाए, छोरीको चाहना । उनले भने, ‘तिमीलाई अभिनयमा रहर छ भने एक्टिङ पढ ।’ 

त्यसपछि समृद्धि लागिन् मुम्बईतर्फ । पुगिन्, विस्लिङ उड्स इन्स्टिच्युट । त्यहाँ उनले पढिन् अभिनय । 

तीन वर्षको अभिनयपछि उनी मोडलिङ एजेन्सीमा आबद्ध भइन् । र, गरिन् मोडलिङ । नाम पिज्जादेखि जिलेटसम्मका ब्रान्डमा समृद्धिले मोडलिङ गरिन् ।

एक्टिङको ज्ञान र मोडलिङको कामले उनमा आत्मविश्वास भरियो । केही हिन्दी सिरिजका लागि उनले अडिसन दिइन् । तर, मुम्बई आफैँमा कलाकार हुन चाहनेहरूको सपनाको सहर, पूरै भारतभरिका कलाप्रेमीहरूको संघर्षको सहर, ठूलो सहर, ठूलो देश, ठूलै प्रतिस्पर्धा । समृद्धिको रहर फेरि खुम्चियो ।

त्यसपछि उनले विज्ञापन, म्युजिक भिडियो र सर्ट मुभीमा काम गरिन् । करिब एक दर्जन सर्ट मुभीमा उनले क्यामेरा फेस गरिन् । 

० ० ०

हङकङमा समृद्धिको आमाको सैलुन थियो । उनको सैलुनमा नेपाली कलाकार थुप्रै पुग्थे, विशेष गरी चलचित्र अवार्डहरू हुँदा । समृद्धि पनि सिनेमामा अभिरुचि राख्छिन्, मुम्बईमा संघर्ष गरिरहेकी छन् भन्ने थाहा पाएपछि निर्माता अर्जुनकुमारले भने, ‘नेपालमा चलचित्र ‘फर्की फर्की’मा कलाकारका लागि अडिसन आह्वान गरेको छ, भाग लिँदा हुन्छ त ।’

समृद्धिले पनि त्यसै गरिन् । उनी छनोट भइन् । नेपाली चलचित्र उद्योगमा उनको ‘इन्ट्री’ भयो । पहिलो चलचित्रमै उनले ठूलो स्टारडम भएका कलाकार अनमोल केसीसँग स्क्रिन सेयर गर्ने मौका पाइन् । प्रतीक्षित चलचित्रको राम्रै चर्चा थियो ।

निश्चय नै स्टारडमको छायामा उनी परिन् । नयाँ कलाकार, पहिलो सिनेमा अनि स्टारकास्ट । उनलाई यसको अनुभूत पहिला नै थियो । त्यसैले मनोवैज्ञानिक रूपमा उनी तयार थिइन् ।

“सुरुसुरुमा नयाँले संघर्ष गर्नुपर्छ भन्ने मलाई थाहा थियो । त्यसैले धेरै अपेक्षा राख्यो भने मिट नहुँदा दुःख पाइन्छ भन्ने मलाई थाहा थियो,” समृद्धि भन्छिन्, “त्यसैले मैले धेरै अपेक्षा नै राखेको थिइनँ ।”

समृद्धिले जे सोचेको त्यस्तै भयो । ‘फर्की फर्की’ चल्यो । बक्सअफिसमा पनि सफल नै भयो । तर, उनलाई अफर आएन । 

० ० ० 

तर,
के तर ? 

‘फर्की फर्की’को सम्पादन गरेका सुरेन्द्र पौडेलको नजरमा समृद्धि परेकी रहिछन् । सुरेन्द्रले आफैँ चलचित्र निर्देशन गर्ने भए । समृद्धिलाई अफर आयो ।

उनले सोधिन्, ‘को छ कलाकार ?’
‘दयाहाङ राई र विजय बराल ।’ 
‘हँ !’ 
‘किन हँ ?’

अभिनयमा अब्बल भनेर चिनिएका दयाहाङ र विजयसँग काम गर्न सक्छु होला त ? समृद्धिले आफैँसँग प्रश्न गरिन् । अनि, उनलाई लाग्यो, ‘यो मेरा लागि सिक्ने अवसर पनि हो, त्यसैले यो अवसर उम्काउनु होइन, सदुपयोग गर्नुपर्छ ।’

अनि, उनले निर्णय लिइन्, खेल्छु । त्यसमा पनि उनी अभिनयमा ‘ल्यान्क’ थिइनन्, धेरै सिनेमामा काम नगरेको मात्र त हो । त्यसमाथि पहिलो सिनेमा पनि थिएन । एउटा चलचित्रमा त काम गरिसकेकी थिइन् ।

‘वरिष्ठ बलराम’मा अधिकांश थिएटर ब्याकग्राउन्डका कलाकार छन् । समृद्धि पनि थिएटर ब्याकग्राउन्डकै कलाकार, ट्युनिङ मिल्यो । त्यसमाथि विजय र दयाहाङले ‘कोअपरेट’ गरे । उनलाई थप सहज भयो ।

कात्तिक ६ गते भाइटीकाका दिन चलचित्र रिलिज हुँदै छ । समृद्धि मुख्य भूमिकामा छिन् । यो सिनेमाबाट समृद्धिको अपेक्षा कति छ ?

“त्यति धेरै त छैन, तर पहिलो सिनेमाको भन्दा हल्काचाहिँ बढेको छ,” उनी भन्छिन्, “फर्की फर्कीभन्दा यसमा डिफरेन्ट क्यारेक्टर छ । पोटेन्सियल छ कि भनेर मेकरहरूले हेर्नुहुन्छ भन्ने अपेक्षा गरेकी छु ।”

पहिलोभन्दा दोस्रो चलचित्रमा समृद्धिले ‘स्पेस’ पाएकी छन् । आफूले जानेको ज्ञान र सीप देखाएकी छन् । त्यसमाथि विश्वसनीय बनाउन विजयले सहयोग गरेका छन् । त्यसैले यो चलचित्रमा मेकर र दर्शक दुवैले ‘नोटिस’ गर्ने उनले अपेक्षा गरेकी छन् ।

अक्सर नेपाली चलचित्रमा हिरोइनलाई हिरोको वरपर घुमाइन्छ । त्यति धेरै महत्त्वपूर्ण कथावाचकका रूपमा प्रस्तुत गरिँदैन ।

कतै यस्तै त छैन तपाईंको क्यारेक्टर पनि ? “तपाईंले भनेजस्तो नेपाली चलचित्र उद्योगमा समस्या छ । तर, वरिष्ठ बलराममा मैले निर्वाह गरेको चरित्र महत्त्वपूर्ण छ,” समृद्धि भन्छिन्, “केटाका लागि मात्रै मेरो क्यारेक्टर राखिदिएजस्तो लाग्दैन । कुसुमको क्यारेक्टरको जर्नी छ ।”

कुसुम बुवा नभएको आमाले एक्लै हुर्काएकी छोरी हो । उसको जीवन यात्रा कति कठिन छ, ऊ कसरी स्वावलम्बी हुने प्रयास गर्छे भन्ने चरित्रको यात्रा छ । यसलाई न्यायपूर्ण तरिकाले देखाउँदा आमचलचित्रमा जस्तो हिरोको अघिपछि गर्दै उनका निम्ति मात्र देखाउने चरित्र नरहेको समृद्धि प्रस्ट पार्छिन् ।

‘वरिष्ठ बलराम’बाट कुसुमको क्यारेक्टर झिके सिनेमाको कथा अधुरो हुने उनी बताउँछिन् ।

नेपालमा एकाध महिला चरित्रप्रधान चलचित्र नबनेका होइनन्, तर त्यसको संख्या निकै न्यून छ । वर्षमा एउटा ‘फिमेल सेन्ट्रिक’ चलचित्र पनि मुस्किलले बनिरहेको अवस्था छ । जबकि, खोज्ने हो भने पुरुषका भन्दा महिलाका कथा धेरै होलान् र रोचक पनि । तर, किन महिलालाई केन्द्रमा राखेर चलचित्र बनाइँदैन ? अथवा कम बनाइन्छ ?

“बलिउडमा पनि त्यस्तै हो, तर त्यहाँ अहिले फिमेल सेन्ट्रिक सिनेमा बन्नेक्रम बढेको छ । सिरिजहरू त झन् धेरै महिलाका कथामा बनिरहेका छन् । तर, मूलधारका सिनेमा हेर्दा त्यहाँ अहिले पनि उस्तै छ,” समृद्धि भन्छिन्, “नेपालमा पनि केही समय लाग्छ होला, तर बन्न थालेका छन् । केही समयअगाडि रिलिज भएको खेल फिमेल सेन्ट्रिक मुभी नै थियो ।”

ठूलो संख्यामा महिला आफैँ निर्माण, लेखन र निर्देशनमा नआएसम्म महिलाप्रधान चलचित्रको संख्या सोचेजस्तो नबढ्ने समृद्धिको धारणा छ । दर्शकले पनि उत्तिकै साथ दिनुपर्ने उनको भनाइ छ ।

बक्सअफिसमा सफल भएपछि महिला चरित्रप्रधान चलचित्र बन्ने संख्याले फड्को मार्ने समृद्धिको विश्वास छ । समृद्धिले भनेको सही हो, नेपालमा अहिले पनि फिमेल क्यारेक्टरले सिनेमा धान्दैनन् भन्ने टिप्पणी गरिन्छ । त्यसैले पुरुष पात्रलाई केन्द्रमा राखेर चलचित्र बनिरहेका छन् ।        

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्